काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीको आधिकारिक मुख्यालय सानेपामा शरीर मात्रै रहेको तर कांग्रेसको वास्तविक आत्मा राष्ट्रिय भेलामा उपस्थित भएको बताएका छन् ।
काठमाडौँमा इतर समूहले गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा डा.महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता नचाहेको आरोप लगाए ।
महतले विशेष महाधिवेशन पक्षधर नेतृत्वले राष्ट्रिय भेलामा सहभागी भएका ठुलो सङ्ख्याका नेता–कार्यकर्ताहरूलाई स्वीकार गर्न नसकेको दाबी गरे ।
‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता चाहेकै छैन,’ उनले भने, ‘उनीहरू यो राष्ट्रिय भेलामा आएका नेता–कार्यकर्तालाई चाहेका छैनन्, त्यसैले पटक–पटक भएका वार्ता र संवादमा कुरा मिल्न सकेन।’
कांग्रेसको विचारधारालाई प्रस्ट पार्दै महतले भने, ‘हामी राष्ट्रवादी, लोकतन्त्रवादी र प्रजातान्त्रिक समाजवादी शक्ति हौँ। अहिले सानेपामा शरीर मात्रै छ, आत्मा यो राष्ट्रिय भेलामा छ। शरीर र आत्मालाई कसरी एकै स्थानमा ल्याउन सकिन्छ भनेर नै हामीले यो राष्ट्रिय भेला आयोजना गरेका हौँ।’
नेता महतले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै आगामी १५ औँ महाधिवेशन सम्पन्न गराउने वैधानिक सभापति भएको जिकिर गरे ।
उनले भने, ‘१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा वैधानिक रूपमा १५ औँ महाधिवेशन गर्ने सभापति हुनुहुन्छ। उहाँकै नेतृत्वमा मात्रै पार्टीभित्र बृहत्तर एकता सम्भव छ।’