काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति कडाइ गर्ने तयारी गरेका छन्। संसद्मा सांसदहरूको प्रस्तुति र मन्त्रीहरूको जवाफ दिने शैलीलाई लिएर पछिल्लो समय असन्तुष्टि बढेपछि लामिछानेले पार्टीका सांसद र मन्त्रीलाई बोलाएर सदनमा मर्यादित र संयमित व्यवहार गर्न निर्देशन दिएका हुन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा रास्वपाका सांसद तथा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको थियो। बैठकमा विशेषगरी संसद्मा प्रस्तुत हुने भाषा, व्यवहार र पार्टीको नीति तथा अनुशासन पालना गर्ने विषयमा छलफल भएको बताइएको छ।
पछिल्लो समय संसद्मा मन्त्री र सांसदबीच प्रश्नोत्तरका क्रममा देखिने शैलीलाई लिएर आलोचना हुँदै आएको छ। सांसदहरूले आफ्ना प्रश्न र माग सम्बोधन नभएको भन्दै आक्रोशपूर्ण वा रुखो शैली अपनाउने तथा मन्त्रीहरूले पनि प्रश्नको जवाफ दिँदा चेतावनीपूर्ण अभिव्यक्ति दिने अवस्था देखिन थालेपछि रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिएको हो।
सभामुखप्रति सम्मानजनक व्यवहार गर्न निर्देशन
छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालको निर्देशन तथा संसदीय प्रक्रियालाई बेवास्ता नगर्न सांसदहरूलाई स्पष्ट निर्देशन दिइएको बताइएको छ।
सभामुखको निर्देशन नमान्ने, सदनको मर्यादा कायम नगर्ने तथा पार्टीको नीतिविपरीत गतिविधिमा संलग्न हुने सांसदप्रति नेतृत्वले कडा कदम चाल्न सक्ने संकेतसमेत दिइएको बैठकमा सहभागी एक नेताले बताएका छन्।
त्यस्तै, मन्त्रीहरूलाई पनि सांसदले उठाएका प्रश्नको जवाफ दिँदा संयमित र जिम्मेवार भाषा प्रयोग गर्न निर्देशन दिइएको छ। प्रश्नको जवाफ दिने क्रममा धम्कीपूर्ण वा उत्तेजक अभिव्यक्ति नदिन नेतृत्वले सचेत गराएको बताइएको छ।
‘पार्टीको नीति र अनुशासनभन्दा बाहिर नजानू’
रास्वपा नेतृत्वले आफ्ना सांसद तथा मन्त्रीहरूलाई पार्टीको नीति, निर्णय र संसदीय अनुशासनअनुसार अघि बढ्न निर्देशन दिएको छ। व्यक्तिगत अभिव्यक्ति वा व्यवहारका कारण पार्टीको छवि प्रभावित हुन नदिन नेतृत्वले सांसद तथा मन्त्रीलाई सचेत गराएको बताइएको छ।
पार्टीभित्र अनुशासन कायम गर्न तथा संसद्मा रास्वपाको प्रस्तुति व्यवस्थित बनाउन यस्तो छलफल गरिएको नेताहरूको भनाइ छ।
लामिछानेले पार्टीबाट निर्वाचित सांसद र सरकारमा सहभागी मन्त्रीहरूबीच समन्वय आवश्यक रहेको भन्दै संसद्मा एउटै राजनीतिक दृष्टिकोण र जिम्मेवार व्यवहार देखाउनुपर्नेमा जोड दिएका छन्।
अब सांसद–मन्त्रीको प्रस्तुति निगरानीमा
रास्वपाले संसद्मा आफ्ना सांसद तथा मन्त्रीहरूको भूमिका प्रभावकारी बनाउन खोजिरहेको छ। सरकारमा सहभागी भएपछि पार्टीका मन्त्री र सांसदको अभिव्यक्ति तथा व्यवहारले सरकारसँगै पार्टीको राजनीतिक छविमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेतृत्वले यसलाई प्राथमिकतामा राखेको देखिन्छ।
विशेषगरी सदनमा हुने प्रश्नोत्तर, विधेयकमाथिको छलफल र सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन नेतृत्वले दिएको निर्देशनलाई पार्टीभित्रको अनुशासन सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।
अब पार्टीको नीति तथा संसदीय अनुशासनविपरीत जाने सांसद र मन्त्रीप्रति नेतृत्वले कस्तो कदम चाल्छ भन्ने विषय भने चासोको विषय बनेको छ। नेतृत्वको निर्देशनपछि रास्वपाका सांसद तथा मन्त्रीहरूको आगामी संसदीय प्रस्तुति र व्यवहारमा समेत निगरानी बढ्ने संकेत देखिएको छ।