काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ का कारण राहत वितरणमा गम्भीर त्रुटि देखिएको बताएकी छिन् ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बाढी पहिरो विपद् व्यवस्थापन सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेकी हुन् ।
स्थलगत अनुगमनका क्रममा राहत र उद्धारमा केही प्रयास भए पनि वितरण प्रक्रिया त्रुटिपूर्ण रहेको थापाले उल्लेख गरिन् । उनले भनिन्, ‘हामीले स्थलगत भ्रमण गर्दा महिला र बालबालिकाको अवस्था निकै कष्टकर देख्यौँ । एकद्वार प्रणालीका कारण उनीहरूका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेका छन् ।’
विशेषगरी प्रभावित क्षेत्रका महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याड र हाइजिन किटको चरम अभाव देखिएको उनले बताइन् । ‘केन्द्रबाट पठाइएका सामग्रीहरू एक ठाउँमा थुप्रिएका छन्, तर प्रभावित महिलासम्म पुग्न सकेका छैनन्,’ उनले भनिन् ।
स्थानीय र प्रदेश सरकारको समन्वयमा कार्य भइरहेको भए पनि स्वास्थ्य र सरसफाइ जस्ता संवेदनशील विषयमा ध्यान पुग्न नसकेको उनको भनाइ छ ।
प्रमुख सचेतक थापाले बालबालिकाको पोषण र स्वास्थ्यको विषयमा पनि गम्भीर चिन्ता व्यक्त गरिन् । एकद्वार प्रणालीको जटिलता र झन्झटका कारण विशेषज्ञ निकायहरूले आफ्नो क्षेत्रमा काम गर्न नपाएको उनले जिकिर गरिन् ।
स्वास्थ्य, महिला अधिकार र बाल संरक्षणको क्षेत्रमा क्रियाशील संस्थाहरूलाई प्रभावित क्षेत्रमा सहज रूपमा काम गर्ने वातावरण मिलाइदिन उनले पार्टी नेतृत्व र सरकारको ध्यानाकर्षण गराएकी छिन् ।