रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।
राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु२च २८४९ नं को जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालक सहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नंं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
घाईते हुनेहरुमा चालक जिल्ला नवलपरासी (पुर्ब) बिनयत्रिबेणी गाउँपालिका ७ त्रिबेणीका ३२ वर्षीय बिबेक कार्की,पाल्पा तानसेन नगरपालिका १४ अर्गलीका ४० वर्षीय दिलिप न्यौपाने रुपन्देही शुद्धोधन गाउँपालिका ४ का २४ वर्षीय चन्दन कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय पाण्डेले जानकारी दिनुभयो ।
पहिरोका कारण केही बेर राजमार्गको बुटवल-पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।