काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।
समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् । ‘रसुवामा बाढीले पुर्याएको क्षति र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो,’ थापाले भनिन् ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको थापाले जानकारी दिइन् ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो। बैठकमा सरकारका पछिल्ला कामकारबाहीका साथै संसद्मा विपक्षी दलहरू कसरी अघि बढ्ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ।