काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि. अन्तर्गतका यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि. ले ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्।
विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै बाढीबाट भएको जनधनको क्षतिको पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
उक्त सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी, चेयरमेन चुन्नप्रसाद शर्मा र नरिश्वर शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
आर्थिक सहयोगमा मात्र सीमित नरही यशोदा ग्रुपले बाढीबाट अतिप्रभावित क्षेत्रमा प्रत्यक्ष राहतसमेत पुर्याएको छ। कम्पनीका अनुसार रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ अत्यावश्यक खाद्य राहत सामग्रीका रूपमा पठाइएको छ।
उक्त चाउचाउ सम्बन्धित निकाय तथा प्रभावित नागरिकमार्फत प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ।
‘विपद्मा पीडितसँगै छौँ’
यशोदा ग्रुपले विपद्को समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पीडितको जीवन सहज बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आवश्यकता देखिएमा थप चाउचाउ तथा अन्य आवश्यक राहत सामग्री पठाउन आफूहरू तयार रहेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक पर्ने अन्य जुनसुकै प्रकारको सहयोग गर्न पनि यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि. पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको जनाएको छ।
भोटेकोसी बाढीले रसुवासहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्थामा निजी क्षेत्रबाट आएको यो सहयोगले सरकारी राहत कोषलाई बलियो बनाउनुका साथै प्रभावित नागरिकसम्म तत्काल आवश्यक खाद्य सामग्री पुर्याउन महत्वपूर्ण योगदान गर्ने देखिन्छ।
विपद्का बेला सहयोग केवल रकम होइन, पीडितको जीवन फर्काउने भरोसा पनि हो-यही भावनासहित यशोदा ग्रुपले राहत र पुनर्स्थापनाको अभियानमा आफ्नो साथ निरन्तर रहने प्रतिबद्धता जनाएको छ।