काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ। सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडपर्वका बेला बैंकमा हुने भीड कम गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंकहरूलाई एटीएम मेसिनमार्फत १०० रुपैयाँ दरका नोट उपलब्ध हुने व्यवस्था मिलाउन भनेको छ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्र वितरण हुँदै आएका छन्। जसका कारण साना दरका नोट आवश्यक पर्ने ग्राहक बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यतामा छन्।
विशेषगरी दशैँ, तिहारलगायत ठूला चाडपर्वमा साना दरका नोटको माग बढ्ने भएकाले बैंकका शाखाहरूमा ग्राहकको ठूलो भीड लाग्ने गरेको छ। यस्तो भीड व्यवस्थापन गर्न एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था प्रभावकारी हुने राष्ट्र बैंकको अपेक्षा छ।
केही बैंकसँग प्राविधिक तयारीबारे छलफल गर्दा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न प्राविधिक रूपमा सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ व्यवस्थाले सर्वसाधारणलाई आवश्यक पर्ने साना दरका नोट सहज रूपमा प्राप्त गर्न सहयोग पुग्नुका साथै चाडपर्वका बेला बैंकका शाखामा हुने भीडसमेत घट्ने अपेक्षा गरिएको छ।