वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गर्दै ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने आफ्नो नीतिमा कायम रहन आग्रह गरेका छन्।
ह्वाइट हाउसमा भएको वार्ताका क्रममा राष्ट्रपति सीले चीन र अमेरिकाबीच सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेदको व्यवस्थापनमार्फत द्विपक्षीय सम्बन्धलाई स्थिर र अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सीले यसै वर्ष मेमा भएको समझदारी कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर राख्नुपर्ने बताएका छन्। सहयोगका क्षेत्र विस्तार गर्दै विवादका विषयलाई कम गर्न दुवै देशले निरन्तर संवाद र समन्वय गर्नुपर्ने उनको भनाइ थियो।
एआईमा संयुक्त प्रयासको प्रस्ताव
वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) का विषयमा पनि विशेष छलफल भएको थियो। दुवै देशसँग एआई विकासमा बलियो क्षमता रहेको उल्लेख गर्दै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद आवश्यक रहेको बताए।
एआईको दुरुपयोग रोक्न संयुक्त प्रयास गर्नुपर्ने तथा यसको विकास मानव नियन्त्रणमा र मानवकेन्द्रित ढङ्गबाट हुनुपर्नेमा उनले जोड दिए।
ट्रम्पद्वारा व्यापार वार्ता जारी राख्ने धारणा
अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीको अमेरिका भ्रमणलाई उत्कृष्ट भन्दै चीन–अमेरिकाबीचको आर्थिक तथा व्यापारिक संवादलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
दुवै देशका टोलीबीच भएका पछिल्ला छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै ट्रम्पले व्यापार सम्झौतालाई थप सुधार गर्न वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। एआईका क्षेत्रमा पनि संवाद र सहकार्य विस्तार गर्ने विषयमा दुवै नेता सहमत भएका छन्।
मध्यपूर्वदेखि युक्रेनसम्म छलफल
वार्ताका क्रममा मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको अवस्था लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा समेत विचार आदानप्रदान भएको थियो।
यसैगरी सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक तथा जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ।
राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा सी र ट्रम्पबीच भएको दोस्रो भेट हो।