बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद न्यौपानेसँग विशेष संवाद
देवदह केवल एउटा भौगोलिक स्थान होइन, बुद्धकालीन सभ्यता, कोलीय गणराज्य र गौतम बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक भूमि हो। यही इतिहासलाई बौद्ध साहित्य, पुरातात्त्विक प्रमाण, यात्रावृत्तान्त र स्थानीय सन्दर्भका आधारमा खोज्दै निबर्तमान लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक अभियन्ता डा. कृष्णप्रसाद न्यौपानेले ‘बुद्धकालीन देवदह’ कृति पाठकमाझ ल्याउनुभएको छ। चिकित्सक, अध्येता, शिक्षक तथा सामाजिक जीवनका विविध अनुभव संगालेका न्यौपानेको यो कृति इतिहासप्रतिको जिज्ञासा र अनुसन्धानको निरन्तरताको परिणाम हो। पुस्तकसँगै देवदहको पहिचान, संरक्षण, पर्यटन, नयाँ पुस्ताको इतिहासप्रतिको चासो र उहाँको आगामी लेखन यात्राबारे मिसन लुम्बिनी डटकमले डा. कृष्णप्रसाद न्यौपानेसँग मिसन लुम्बिनी डटकमको विशेष कुराकानी
मिसन लुम्बिनी डटकम : डा. कृष्णप्रसाद न्यौपानेज्यू, तपाईंको पहिलो खोजमूलक कृति ‘बुद्धकालीन देवदह’ अहिले पाठकमाझ आएको छ। सुरुमै जान्न चाहन्छौँ-यो पुस्तक लेख्ने प्रेरणा कहाँबाट आयो?
डा.न्यौपाने : धन्यवाद। मेरो जन्म गुल्मीमा भए पनि २०३२ सालदेखि देवदहसँग मेरो जीवन प्रत्यक्ष रूपमा जोडियो। यही भूमिमा हुर्कंदै जाँदा देवदह केवल एउटा ठाउँ होइन, बुद्धको जीवन, कोलीय सभ्यता र नेपालको प्राचीन इतिहाससँग जोडिएको अत्यन्त महत्त्वपूर्ण भूमि हो भन्ने अनुभूति हुँदै गयो। विशेषगरी बौद्ध अध्ययनतर्फ अघि बढेपछि देवदहप्रतिको मेरो जिज्ञासा अझ गहिरिँदै गयो। त्रिभुवन विश्वविद्यालयमा बौद्ध अध्ययनको स्नातकोत्तर तहमा शोधपत्र तयार गर्ने क्रममा ‘बौद्ध साहित्यमा देवदहको अध्ययन तथा विश्लेषण’ विषय रोजेँ। त्यसपछि त्रिपिटक, पालि तथा संस्कृत बौद्ध साहित्य, विदेशी यात्रुका विवरण र पुरातात्त्विक प्रमाणहरू खोज्दै जाँदा यो विषय मेरो अध्ययनको एउटा लामो यात्रामा परिणत भयो। त्यही यात्राको एउटा परिणाम हो-‘बुद्धकालीन देवदह’।
मिसन लुम्बिनी डटकम : देवदहको पहिचान आफैँमा जटिल विषय देखिन्छ। तपाईंले यसलाई कसरी हेर्नुभएको छ?
डा.न्यौपाने : देवदहलाई आजको एउटा निश्चित भूभागसँग मात्र जोडेर हेर्नु उचित हुँदैन। बुद्धकालमा यो एउटा गणराज्य र त्यसको महत्वपूर्ण केन्द्र थियो। त्यसैले तत्कालीन देवदहको भौगोलिक सीमा आजको प्रशासनिक सीमासँग मिल्छ भन्ने हुँदैन। बौद्ध साहित्य, पुरातात्त्विक प्रमाण, चिनियाँ यात्रुका विवरण र भौगोलिक अवस्थाको तुलनात्मक अध्ययन आवश्यक हुन्छ। भवानीपुर, पण्डितपुर, रामग्रामलगायतका स्थानलाई अलगअलग रूपमा देवदहसँग जोडेर हेर्ने मतहरू पनि छन्। मेरो अध्ययनको उद्देश्य कुनै पूर्वनिर्धारित निष्कर्ष थोपर्नु होइन, उपलब्ध प्रमाणलाई एकै ठाउँमा राखेर देवदहको ऐतिहासिक पहिचानलाई अझ गहिराइमा बुझ्ने प्रयास गर्नु हो।
मिसन लुम्बिनी डटकम : तपाईंको लेखकीयमा ‘मंगलपुष्करिणी’को खोजलाई विशेष रूपमा उल्लेख गर्नुभएको छ। त्यो अनुभव कस्तो थियो?
डा. न्यौपाने : त्यो मेरो अनुसन्धान यात्राको अत्यन्त स्मरणीय क्षण हो। बौद्ध ग्रन्थमा देवदहसँग सम्बन्धित मंगलपुष्करिणीको उल्लेख भेटिन्छ। तर त्यो कहाँ थियो भन्ने स्पष्ट जानकारी थिएन।
वि.सं. २०६४ को असोजतिर खोज गर्दै जाँदा देवदह नगरपालिका-९ खयरडाँडामा, पुरातात्त्विक स्थलदेखि उत्तरतर्फ जंगलभित्र ठूलो दह भेटियो। त्यहाँ पानीको मूल थियो, विभिन्न रङका कमल फुलेका थिए र भूबनोटले पनि पुरानो ठूलो पोखरीको संकेत गरिरहेको थियो। मैले त्यसलाई तत्काल अन्तिम प्रमाणका रूपमा नभई थप अध्ययनको विषयका रूपमा लिएँ। विभिन्न पक्षबाट अध्ययन गरेपछि बौद्ध साहित्यमा उल्लेख भएको मंगलपुष्करिणीसँग यसको सम्बन्ध हुनसक्ने निष्कर्षतर्फ पुगेँ। त्यसपछि स्थानीय समुदायमा यसको संरक्षण र महत्वबारे चर्चा गराउने प्रयास गरेँ। अहिले संरक्षणतर्फ काम अघि बढिरहेको देख्दा अनुसन्धानको एउटा प्रयासले व्यवहारमा पनि अर्थ पाएको अनुभूति हुन्छ।
मिसन लुम्बिनी डटकम : देवदहको चर्चा गर्दा रोहिणी नदी पनि जोडिन्छ। यसको ऐतिहासिक महत्व के हो?
डा. न्यौपाने : रोहिणी नदी शाक्य र कोलीय गणराज्यको जीवनसँग जोडिएको महत्वपूर्ण नदी हो। यसको पानीको उपयोग दुवै राज्यले गर्ने गरेका थिए। पानीको बाँडफाँटलाई लिएर विवाद उत्पन्न भएको र त्यो विवाद युद्धको अवस्थासम्म पुगेको प्रसङ्ग बौद्ध साहित्यमा पाइन्छ।
गौतम बुद्धले दुवै पक्षबीचको विवाद समाधानका लागि संवाद र विवेकको बाटो रोज्न प्रेरित गर्नुभएको प्रसङ्ग निकै अर्थपूर्ण छ। यसले बुद्धदर्शन केवल आध्यात्मिक चिन्तन मात्र नभई सामाजिक द्वन्द्व समाधान र सहअस्तित्वको दर्शन पनि हो भन्ने देखाउँछ।
मिसन लुम्बिनी डटकम : तपाईंको अध्ययनमा देवदह र बुद्धको व्यक्तिगत सम्बन्धलाई पनि विशेष स्थान दिइएको छ। त्यो सम्बन्धलाई कसरी बुझ्न सकिन्छ?
डा. न्यौपाने : देवदह बुद्धको जीवनसँग अत्यन्त नजिकबाट जोडिएको भूमि हो। महामाया, प्रजापति गौतमी र यशोधरासँग देवदहको सम्बन्धले यसको महत्व अझ बढाउँछ। बुद्धको जन्म, बाल्यकाल, पारिवारिक सम्बन्ध र बुद्धत्व प्राप्तिपछिका विभिन्न यात्राका प्रसङ्गमा कोलीय क्षेत्रको चर्चा आउँछ। त्यसैले देवदहलाई केवल एउटा पुरानो पुरास्थलका रूपमा हेर्नुभन्दा बुद्धकालीन सामाजिक, सांस्कृतिक, राजनीतिक र पारिवारिक जीवन बुझ्ने महत्वपूर्ण आधारका रूपमा अध्ययन गर्नुपर्छ।
मिसन लुम्बिनी डटकम : तपाईं चिकित्सक पनि हुनुहुन्छ, बौद्ध दर्शनका अध्येता पनि, अध्यापन गर्नुभएको छ र जनप्रतिनिधिका रूपमा समेत काम गर्नुभएको छ। यी फरक-फरक क्षेत्र कसरी जोडिए?
डा. न्यौपाने : मानिसको जीवनलाई एउटै परिचयले सीमित गर्न सकिँदैन। चिकित्सा मेरो पेशागत यात्रा हो भने दर्शन, इतिहास र बौद्ध साहित्य मेरो अध्ययन र रुचिका क्षेत्र हुन्। शिक्षणले ज्ञान बाँड्ने अवसर दियो भने सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा समाजलाई नजिकबाट बुझ्ने अवसर पाएँ। यी सबै अनुभवले अन्ततः मानिस, समाज, इतिहास र सभ्यतालाई बुझ्ने दृष्टि फराकिलो बनाउँछन्। एउटा क्षेत्रमा प्राप्त अनुभव अर्को क्षेत्रमा पनि उपयोगी हुँदो रहेछ।
मिसन लुम्बिनी डटकम : तपाईंले देवदहमा अनुसन्धान गर्दा सबैभन्दा ठूलो चुनौती के पाउनुभयो?
डा. न्यौपाने : सबैभन्दा ठूलो चुनौती भनेकै प्रमाणको सीमितता र छरिएर रहेका स्रोतहरू हुन्। पुराना ग्रन्थको व्याख्या, यात्रुका विवरण, स्थानीय परम्परा र पुरातात्त्विक प्रमाणलाई एकआपसमा तुलना गर्नुपर्छ। कुनै एउटा स्रोत भेटियो भन्दैमा इतिहास प्रमाणित भइहाल्दैन। त्यसैले अनुसन्धानमा धैर्य, शंका गर्ने क्षमता र प्रमाणप्रतिको इमानदारी आवश्यक हुन्छ। अझ पुरातात्त्विक स्थल संरक्षण नभए प्रमाण नै हराउने जोखिम हुन्छ। त्यसैले खोजसँगै संरक्षण पनि उत्तिकै आवश्यक छ।
मिसन लुम्बिनी डटकम : तपाईंले पुस्तकलाई पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि उपयोगी हुने अपेक्षा गर्नुभएको छ। यसबाट देवदहमा के परिवर्तन ल्याउन सकिन्छ?
डा. न्यौपाने : देवदहसँग धार्मिक पर्यटन मात्र होइन, ज्ञान र अनुसन्धानमा आधारित सांस्कृतिक पर्यटनको ठूलो सम्भावना छ। पुरास्थलको संरक्षण, व्यवस्थित सूचना केन्द्र, संग्रहालय, अध्ययन सामग्री, डिजिटल अभिलेख र ऐतिहासिक स्थल जोड्ने पर्यटकीय मार्ग निर्माण गर्न सकियो भने देवदहलाई एउटा महत्वपूर्ण बौद्ध-ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
तर पर्यटन विकासको आधारमा सम्पदाको संरक्षण हुनुपर्छ। सम्पदा नष्ट गरेर पर्यटन विकास सम्भव हुँदैन।
मिसन लुम्बिनी डटकम : आजको पुस्ताले आफ्नो इतिहासप्रति पर्याप्त चासो राखेको देख्नुहुन्छ?
डा. न्यौपाने : चासो छ, तर सही र विश्वसनीय सामग्रीको पहुँच अझ बढाउनुपर्छ। नयाँ पुस्ताले प्रश्न गर्छ, खोज्छ र प्रमाण खोज्छ। त्यसैले उनीहरूलाई केवल गौरवका कथा सुनाएर पुग्दैन; प्रमाणसहित इतिहास बुझाउनुपर्छ।
हाम्रा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्थानीय इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदालाई अझ प्रभावकारी ढंगले जोड्न सकिन्छ। देवदहजस्ता स्थान आफैँ एउटा खुला विश्वविद्यालय हुन्।
मिसन लुम्बिनी डटकम : तपाईंको पुस्तकमा बौद्ध साहित्यदेखि चिनियाँ यात्रुका विवरण र पुरातात्त्विक प्रमाणसम्म समेटिएको छ। पाठकले पुस्तकबाट के खोज्नुपर्छ?
डा. न्यौपाने : यो पुस्तकलाई अन्तिम निष्कर्षको पुस्तकभन्दा एउटा अध्ययन यात्राका रूपमा लिन म आग्रह गर्छु। देवदह कहाँ थियो भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा हामी बुद्धकालीन समाज, गणराज्य, नदी, संस्कृति, महिला पात्र, शासकीय व्यवस्था र धार्मिक जीवनसम्म पुग्छौँ। पाठकले आफ्नै प्रश्न पनि जन्माउन सकून् भन्ने मेरो चाहना हो। एउटा राम्रो अनुसन्धानले सबै प्रश्न बन्द गर्दैन, नयाँ प्रश्न जन्माउँछ।
मिसन लुम्बिनी डटकम : पुस्तक प्रकाशनपछि तपाईंको अनुसन्धान यात्रा सकिएको हो कि अझै बाँकी छ?
डा. न्यौपाने : अझै धेरै बाँकी छ। देवदहको भूगोल, पुरातात्त्विक स्थल, रोहिणी नदीको पुरानो प्रवाह, कोलीय-शाक्य सम्बन्धलगायत धेरै विषयमा थप अनुसन्धान आवश्यक छ। मैले अध्ययनका क्रममा भेटिएका केही नयाँ सम्भावित क्षेत्रलाई पनि आगामी अनुसन्धानका लागि सुरक्षित राखेको छु। मलाई लाग्छ, एउटा पुस्ताले सुरु गरेको खोज अर्को पुस्ताले अगाडि बढाउनुपर्छ।
मिसन लुम्बिनी डटकम : तपाईंले अब संस्मरणात्मक कृति लेख्ने सोच बनाउनुभएको पनि बताउनुभएको छ। त्यसमा कस्तो विषय समेटिनेछ?
डा. न्यौपाने : मेरो जीवन चिकित्सा, शिक्षा, बौद्ध अध्ययन, सामाजिक काम र राजनीतिक यात्रासँग जोडिएको छ। त्यस क्रममा मैले नेपालका विभिन्न सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट देख्ने अवसर पाएँ। लामो समयको सामाजिक-राजनीतिक अनुभव, भूमिगत जीवन, विभिन्न व्यक्तित्वसँगको संगत, संघर्षका दिन, जनप्रतिनिधिका रूपमा देखेका अनुभव र समाज परिवर्तनका क्रममा देखिएका सकारात्मक तथा चुनौतीपूर्ण पक्षलाई आत्मपरक तर तथ्यमा आधारित ढंगले लेख्ने इच्छा छ।
त्यो केवल मेरो जीवनको कथा नहोस्, एउटा पुस्ताले भोगेको समयको दस्तावेज बन्न सकोस् भन्ने चाहना छ।
मिसन लुम्बिनी डटकम : तपाईंलाई भेट्नेहरूले ‘युग बुझ्ने मान्छे’ भनेर चित्रण गर्छन्। तपाईं आफैँलाई कसरी बुझ्नुहुन्छ?
डा. न्यौपाने : म आफूलाई निरन्तर सिकिरहेको विद्यार्थीका रूपमा बुझ्छु। मानिसले आफ्नो समय बुझ्न इतिहास जान्नुपर्छ र भविष्य बुझ्न वर्तमानलाई प्रश्न गर्नुपर्छ। मैले जीवनमा विभिन्न क्षेत्र अनुभव गर्ने अवसर पाएँ। ती अनुभवलाई आफूसँग मात्र राख्नुको अर्थ छैन। लेखन, अनुसन्धान र संवादमार्फत नयाँ पुस्तासम्म पुर्याउन सकियो भने त्यसले केही अर्थ राख्छ।
मिसन लुम्बिनी डटकम : अन्त्यमा, ‘बुद्धकालीन देवदह’ किन पढ्नुपर्छ भनेर पाठकलाई तपाईं के भन्न चाहनुहुन्छ?
डा. न्यौपाने : देवदह एउटा भूगोल मात्र होइन, नेपालको प्राचीन इतिहास, बुद्धको जीवन र बौद्ध सभ्यताको एउटा महत्वपूर्ण अध्याय हो। यो पुस्तक देवदहबारे जानकारी दिने प्रयास मात्र होइन, आफ्नो इतिहासलाई प्रमाण, अनुसन्धान र जिज्ञासाको आँखाले हेर्ने निम्तो पनि हो। पुस्तक पढेपछि पाठकले ‘देवदह यस्तो रहेछ’ भनेर मात्र नरोकिन्, बरु ‘हाम्रो इतिहासलाई अझ कसरी खोज्ने र संरक्षण गर्ने?’ भन्ने प्रश्न गरून् भन्ने मेरो अपेक्षा छ। इतिहासप्रतिको जिज्ञासा जागृत गराउन सकियो भने पुस्तक लेख्नुको उद्देश्य पूरा हुनेछ।
सम्पादकीय टिप्पणी
देवदहलाई हेर्ने एउटा नयाँ झ्याल
डा. कृष्णप्रसाद न्यौपानेको ‘बुद्धकालीन देवदह’ केवल एउटा पुस्तकको नाम होइन, एउटा लामो अध्ययन-अनुसन्धान यात्राको दस्तावेज हो। चिकित्सा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका न्यौपाने बौद्ध दर्शन, साहित्य र इतिहासतर्फ पनि उत्तिकै गहिरो रुचि राख्छन्। यही बहुआयामिक यात्राले उनलाई देवदहको खोजसम्म पुर्याएको देखिन्छ।
\मंगलपुष्करिणीको खोजदेखि रोहिणी नदी, कोलीय-शाक्य सम्बन्ध, बौद्ध साहित्य, चिनियाँ यात्रुका विवरण र पुरातात्त्विक प्रमाणसम्मको अध्ययनले देवदहलाई केवल धार्मिक आस्थाको दृष्टिले होइन, इतिहास, पुरातत्व, संस्कृति र ज्ञानको दृष्टिले समेत पुनःपढ्नुपर्ने आवश्यकता औँल्याउँछ।
यस अर्थमा ‘बुद्धकालीन देवदह’ विगतलाई सम्झाउने पुस्तक मात्र होइन, भविष्यको अनुसन्धानका लागि प्रश्न र सम्भावनाको ढोका खोल्ने प्रयास पनि हो। अझ महत्वपूर्ण कुरा, लेखकले आफ्नो अनुसन्धानलाई अन्तिम सत्यका रूपमा होइन, थप खोजका लागि आधारका रूपमा प्रस्तुत गरेका छन्। यही अनुसन्धानात्मक विनम्रता पुस्तकको एउटा महत्वपूर्ण पक्ष हो।
डा. न्यौपानेसँगको यो कुराकानीले पनि एउटा सन्देश दिन्छ-सम्पदा केवल संरक्षण गरेर पुग्दैन, त्यसलाई पढ्न, बुझ्न र नयाँ पुस्तालाई बुझाउन पनि सक्नुपर्छ।