काठमाडौं । मनाङको नारफू क्षेत्रमा रहेको हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना नेपाली बेपत्ता भएका छन्।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा हराएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
पौडेलका अनुसार एउटा हेलिकप्टरले उद्धार टोलीलाई हिमपहिरो गएको भनिएको स्थानमा पुर्याइसकेको छ भने अर्को हेलिकप्टरसमेत उद्धारका लागि त्यसतर्फ पठाउने तयारी गरिएको छ।
हिमपहिरो गएको स्थान उच्च हिमाली तथा कठिन भूगोलमा रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। घटनाको विस्तृत विवरण तथा बेपत्ताको अवस्था उद्धार टोलीले स्थलगत खोजी गरेपछि थप स्पष्ट हुने प्रशासनले जनाएको छ।
हाल सुरक्षाकर्मी तथा उद्धार टोलीले हिमपहिरोमा फसेकाहरूको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।