अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन भएको छ।
जिल्लाका चार पालिकामा सभापतिसहितको नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचन प्रक्रियामार्फत सभापति चयन भएका छन्।
सन्धिखर्क नगरपालिकाको सभापतिमा तुल्सी पौडेल, भूमिकास्थान नगरपालिकामा रामप्रसाद घिमिरे ‘तीर्थ’, शितगंगा नगरपालिकामा हिम्मत पोखेल र छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यस्तै, पाणिनि गाउँपालिकाको सभापतिमा नुरमहम्मद मिया र मालारानी गाउँपालिकाको सभापतिमा राजेन्द्र विक ‘रमेश’ निर्वाचन प्रक्रियाबाट निर्वाचित हुनुभएको छ।
पालिका अधिवेशनका क्रममा उपसभापति, सचिव, सहसचिवलगायतका पदमा समेत सहमति र सर्वसम्मतिबाट नेतृत्व चयन भएको निर्वाचन मण्डलले जनाएको छ। यसले पार्टीको स्थानीय संगठनमा सहकार्य र सहमतिको अभ्यासलाई प्राथमिकता दिइएको देखाएको छ।
अधिवेशन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत अधिवक्ता अञ्जु रेग्मीको संयोजनमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित, निष्पक्ष र पारदर्शी बनाउन निर्धारित निर्वाचन मापदण्ड तथा प्रक्रियालाई पालना गरिएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो।
पालिका अधिवेशन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाउँदै नवनिर्वाचित सभापतिहरूले आफूहरूलाई निर्वाचित गराउन सहयोग गर्ने मतदाता, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति तथा निर्वाचन मण्डलप्रति आभार व्यक्त गरेका छन्।
नवनिर्वाचित नेतृत्वले आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनतासँग जोडिएको बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशनको स्थानीय तहको संगठनात्मक तयारीले नयाँ चरण प्रवेश गरेको छ। सहमति र प्रतिस्पर्धा दुवै प्रक्रियाबाट नेतृत्व चयन भए पनि अधिवेशनको समग्र सन्देश भने संगठनलाई एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्ने रहेको कांग्रेस नेताहरूले बताएका छन्।
६ पालिकाका निर्वाचित सभापति
सन्धिखर्क नगरपालिका - तुल्सी पौडेल
भूमिकास्थान नगरपालिका - रामप्रसाद घिमिरे ‘तीर्थ’
शितगंगा नगरपालिका- हिम्मत पोखेल
छत्रदेव गाउँपालिका - प्रकाशराज पन्थी
पाणिनि गाउँपालिका - नुरमहम्मद मिया
मालारानी गाउँपालिका - राजेन्द्र विक ‘रमेश’ l