पाल्पा । प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका-२ नारायणस्थान स्थित डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिकाका-१२ का २४ वर्षीय कमल कुमार खड्का रहेको प्रहरीले जनाएको छ ।
अबैध लागू औषध लुकाएर राखी बेच बिखन समेत गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले खड्काको कोठामा खानतलासी गर्ने क्रममा निजको डेरा कोठा भित्र रहेको सिलिण्डर ग्याँस माथी रहेको चामलको बोरा माथी कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट डाईजेपाम, फेनारगन र IPPL टालजेसिक लेखेको लागू औषध जस्तो देखिने एम्पुल १/१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र IPPL टालजेसिक ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल र सोही कोठामा रहेको खाटमुनी लुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडल सहितको थान-१५ र निडल थान-११, प्रयोग गरेको फुटेको एम्पुल थान-८ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।