दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण शुरुवात गरेको छ । सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रम अन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनु भएको छ । वडा नं ११ मा हामीले शुरु गरेका छौँ, अन्य वडामा पनि शुरु भइरहेको छ”, उहाँले भन्नुभयो, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।
हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क नभएको र अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उहाँले बताउनुभयो । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उहाँको भनाई छ ।
वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने र अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो। यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट शुरु भएको छ । यो कार्य सक्न करिब ६ महिनाको समय लाग्न सक्ने बताईएको छ । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ ।