काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलाडी र खेल क्षेत्रलाई माथि उठाउनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले पर्यटनसँग खेल क्षेत्रलाई जोडेर देश विकासलाई अगाडि बढाउन खेल क्षेत्रमा संलग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले रग्बी खेलाडीहरुलाई शुभकामना दिदै खेल क्षेत्रको प्रर्वधन र विकासको लागि त्यसलाई पर्यटनसँग जोडेर लानुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो ‘धेरै खेलाडीहरुलाई नेपालमा भित्र्याएर खेलको प्रर्वधन गर्दै हामी पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने र यो देशको संमृद्धिलाई अगाडि बढाउने कुरामा यो खेल क्षेत्रमा लागेका सबै पदाधिकारीहरु,प्रशिक्षकहरु र खेलाडी साथीहरु सबैलाई म विशेष आग्रह गर्न चाहन्छु ।’
खेलकूद र खेल क्षेत्रबाटै सबैलाई जित्न सक्ने बताएका मन्त्री लिम्बूले खेलाडीलाई माथि उकास्न सबै मिलेर लाग्न पर्नेमा जोड दिनुभयो ।