काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरा रहेको प्रहरीले जनाएको छ ।
बोहराले वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोर किपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटक पटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।