काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ ।
पार्टीको आन्तरिक विशेष अभियान सम्पन्न भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीभित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथिल भएको महसुस गर्न थालेको पाइएको जनाएको हो ।
अभियानका क्रममा विपक्षीहरुले फैलाएका राजनैतिक एवं अन्य विभिन्न भ्रमहरु चिर्दै कांग्रेसले लिएको नीतिका कारण निर्वाचनमा पहिलो पार्टी बनेको यथार्थ विवरण पार्टीका जिल्ला मातहतमा बुझाउने काम भएको कांग्रेस सूचना, सञ्चार तथा प्रचार प्रसार बिभागका प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।
आफू विजयी बन्न कोशिस गर्दा त्यसबाट उत्पन्न हुने विभिन्न समूह उप–समूहको निरन्तरता र अस्वस्थ प्रतिस्पर्धाले दल संचालनमा देखिने असंगठित गतिविधि र चुनौतिहरु साँच्चै जटिल बन्दै गएको वास्तविकता प्रकट भएको उहाँले बताउनुभयो । उहाँले कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा अन्तरकलह, सांगठानिक अव्यवस्था र नेतृत्वको वेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरुको बुझाइरहेको पनि बताउनुभयो ।
विश्वकर्माले पार्टी बारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा यसले पार्टी पंक्तिमा निराशा फैलिएको अवस्थामा अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको दावी गर्नुभयो । उहाँले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायमा कांग्रेस कार्यक्रम स्थगित भएको जानकारी पनि दिनुभयो ।
यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले श्रावण २० देखि ३० गते सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरे बमोजिम प्रतिनिधिसभा र प्रदेश सभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको थियो ।