महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताउनुभयो ।
“घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।” उहाँले १२/१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताउनुभयो ।
विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनु पर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो ।
आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।