बुटवल । विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाले आफ्नो व्यवसाय थप विस्तार गरेको छ । ग्रामीण महिलाहरूद्वारा संचालित बिहानी सहकारीले दुध तथा दुग्ध पदार्थ विक्री डिपो बुटवल–७,दिपनगर चमचमचोकमा विस्तार गरेको हो ।
२०७१ साल चैत २ गते २७ जना महिला सदस्यहरू मिलेर स्थापना गरेको सहकारीमा हाल ८४ वटा समूह आवद्ध भएका छन् । सहकारीमा १ हजार ४ सय २५ जना शेयर सदस्यहरू रहेको सहकारीका अध्यक्ष तुलसी थापाले बताउनुभयो ।
सहकारीले गाउँमा नै दुध संकलन गरेर २०७३ साल पुस १६ गते डेरी उद्योग समेत सञ्चालन गरेको छ । उद्योगमा कुल्फी, दही, नौनी घिउ,घिउ,खुवाँ,सिजन अनुसार चिया,कफी,लप्सी लगायत पनिर उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा पिकअप बोलेरो खरिद गरि बुटवल बजारमा दूध बजारीकरण गर्नुका साथै कृषिजन्य वस्तुहरु जस्तै तरकारी,फलफूल, खसी बोका ढुवानी गर्ने काम सुरुवात गरेको छ ।

१ सय ८६ लिटर दुध संकलन गरेर सुरुवात भएको डेरीमा कोभिड अगाडि २२०० सय लिटर सम्म दुध संकलन हुने गरेको व्यवस्थापक मिना आले काउचाले जानकारी दिनुभयो । उहाँले हाल दैनिक करिव ७०० लिटरसम्म दुध संकलन गर्न सफल भएको काउचाले बताउनुभयो । उहाँले मधौलीया उद्यान पार्कमा विहानी बिक्री केन्द्र,चारनम्बर,जितपुर सहित बुटवलका बजारमा समेत आफ्नो बजारीकरण गर्दै आएको बताउनुभयो । साथै सहकारीले गुणस्तरमा कुनै कमी हुन नदिने गरी काम गरिरहेको जनाएको छ ।
महिलाहरुलाई सहकारी मार्फत गोलबन्द गरेर व्यावसायिक क्षेत्रमा लाग्न समेत प्रेरित गरेको छ । सहकारीले हेफर ईन्टरनेश्नल नेपालले आयोजना गरेको स्वर्णिम प्रतिभा पुरस्कार १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्न सफल भएको छ ।