काठमाडौं । नोभाक जोकोभिच यूएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्थर एसे स्टेडियम भएको खेलमा विश्व नम्बर दुई जोकोभिचले टेलर फ्रिट्जलाई सोझो सेटमा पराजित गर्दै कीर्तिमानी ४७ औं पुरुष ग्रान्डस्लाम टेनिसको सेमिफाइनलमा पुगेका हुन् ।
३६ वर्षीय सर्बियन खेलाडीले अमेरिकी फ्रिट्जलाई ६–१, ६–४, ६–४ ले पराजित गरे। योसँगै जोकोभिच कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधिको एक कदम नजिक पुगेका छन् । तीन पटकका यूएस ओपन च्याम्पियनले अन्तिम चारमा फ्रान्सिस टियाफो वा बेन सेल्टनको सामना गर्नेछन् ।
महिला एकलतर्फ १९ वर्षीय कोको गफ अन्तिम चारमा प्रवेश गरेकी छन् । उनले जेलेना ओस्टापेन्कोलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरिन् । योसँगै उनी सन् २००१ मा सेरेना विलियम्सपछि यूएस ओपनको अन्तिम चारमा पुग्ने सबैभन्दा कान्छी अमेरिकी बनेकी छन् ।