काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन् । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र क्रिकेट समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रुपमा स्वागत गरेको छ ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपालले पाकिस्तानको मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।