रुपन्देही । रुपन्देहीको तिलोत्तमा १५,कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरुलाई शनिवार नमस्ते नेपालले तीज मिलन कार्यक्रम गरि दर खुवाएको छ । शनिवार सहाराविहीन १९ जना बालबालिकाहरु,बाल क्लवका पदाधिकारीहरु र नमस्ते नेपालको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रमका मुख्य अतिथि एवम् नमस्ते नेपालका सल्लाहकार दलबहादुर गुरुङले नमस्ते नेपाल सशंक्त सामाजिक संस्था रहेको र यसले हरेक विधामा रहेर युवाहरुलाई समेट्दै अघि बढेको बताउनुभयो। उहाँले सहाराविहीनहरुको सहारा बन्ने अभियानमा नमस्ते नेपाल सक्रिय रहेकोले अनाथ आश्रममा यस्तो पवित्र कर्म गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा १९ जना बालबालिकाहरुलाई विशाल न्यौपानेले आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रमलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नमस्ते नेपालका कार्यसमिति सदस्य विपीन नेपाललाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने,कलाकार बेनु थापा,सिद्धबाबा मन्दिर विकास समितिका सदस्य कृष्ण पाण्डेय र नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली,दीपेश कंडेलको सार्थक सहभागिता रहेको नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले बताउनुभयो ।
कार्यक्रममा मौलिक तीज गीत र नृत्य समेत सहभागीहरुले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष सुशील सुवेदीको स्वागत,सचिव सन्दिप क्षेत्रीको सञ्चालन र अध्यक्ष मनीष भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।