रेशम कुवँर । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा तपोभूमीमा स्थापना गरिएको गरुडको मूर्तिमा प्राण प्रतिष्ठा अनावरण गरिएको छ । गुल्मी युनाइटेड साकोस तम्घासद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेसुङ्गा गरुडस्थानमा स्थापना गरिएको सो मूर्तिको अनावरण गरिएको हो ।
शनिबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सो मूर्तिको अनावरणसँगै रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण गर्नुभयो । उहाँले रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू निरन्तर लाग्ने भन्दै यहाँको विकासका लागि बहु-वर्षिय योजनाको रुपमा अघि बढाउने बताउनुभयो ।
त्यस्तै, रेसुङ्गामा धेरैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि नगरपालिकाले जाऊ हिँड रेसुङ्गा अभियानको सुरुवात गरिएको बताउनुभयो । यस अभियानलाई प्रभावकारी बनाउन देशका मुख्य शहरहरुमा समेत कार्यक्रम सुरुवात गर्ने उल्लेख गर्नुभयो ।
पाँच लाख रुपियाँको लागतमा गरुडको मूर्ति एवम् संरचना निर्माण गरिएको संस्थाले जनाएको छ । यस क्षेत्रमा पहिले पनि गरुडको मूर्ति रहेको पछि जिर्ण भएको हुँदा यहाँ पुनः गरुडको मूर्ति निर्माण गरिएको गुल्मी युनाइटेड साकोस तम्घासका संचालक समिति सदस्य प्रकाश भलामीले बताउनुभयो ।