Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति 


३, असोज २०८०
  • 128
    SHARES
  • सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति 

    राम नाथ घिमिरे, काठमाडौं । २०६२—६३ को आन्दोलन नै  नेपालको संविधानको जग हो । १२ वर्षे शसस्त्र द्वन्द्व त्यसको व्यवस्थापनका लागि गरिएको १२ बुदेँ सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२—६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो ।त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र संविधान सभाले दिएको संविधान नेपाली जनताको संघर्ष र सम्झौताको गाथामात्रै होइन वर्तमान राज्य व्यवस्थाको पिलर समेत हो । तर अहिले त्यही पिलर निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अधिकांश आफ्नो संघर्ष र बलिदानीपूर्ण त्यागप्रति खिन्न छन् । 

    २४ चैत ०६२ देखि सुरु भएको जनआन्दोलन १९ दिन चलेर ११ वैशाख ०६३ मा संसद पुनस्र्थापनाको सम्झौतामा टुंगिँदासम्म मुख्य भूमिका खेल्ने, केही राजनीतिक दल बाहेक, अधिकांसमा असन्तुष्टिका चाङ छन् । झन् , राज्य संरचनाले नसेमेटेको र विभेदमा पारेको वर्ग, जाति, भाषा, लिङ्गको राजनीतिक अधिकार सुनिश्चित गर्ने नारासहित सुरु भएको सो आन्दोलनमा होमिएर शरीरमा गोलीको दाग बोकेर बाँचेकाहरु  त आज आफैँ विभेदमा परेको अनुभव गरिरहेका छन् । 

    तत्कालिन आन्दोलनको अग्र मोर्चामा रहेका कांग्रेस, एमाले र अदृश्य सहयोग गरेको माओवादी बाहेक अधिकांस दल यो व्यवस्था प्रति नै औँला उठाइरहेका छन् । साम्यवादको सपना बाँडेको तत्कालिन माओवादीबाट चोईटिएका केही त यो संविधानलाई ठाडै अस्वीकार गर्छन् तर यही व्यवस्थाको आडमा पटक पटक सत्ताको तर मारेको माओवादी केन्द्रले पनि गम्भीर रुपमा यो संविधानलाई स्वीकार गर्न सकेको देखिदैन । अनि कांग्रेस र एमालेले यो संविधानलाई ठुलै उपलब्धिको रुपमा चित्रण गरेपनि तत्कालिन आन्दोलनमा सहभागि विभिन्न ५ दलका नेताहरुले यो संविधानको अपनत्व स्वीकार गरेको खास्सै पाइदैन् तर सत्ताको तर मार्ने अवसर पाएमा भने उनीहरु पनि पछि हटेका छैनन् । 

    १९ दिने आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । त्यो १९ दिने आन्दोलनमा २५ जनाले वीरगति प्राप्त गरे । धेरै घाइते भए । यही बीचमा आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो । त्यसपछि नै जनतालाई लागेको थियो अब मुलुकले काँचुली फेर्नेछ । राज्य व्यवस्थाले त काँचुली फेर्यो तर आम नागरिकका सपनाहरु ज्यूँका त्यूँ रहे । संविधान निर्माणपछि मुलुक संघीय शासन प्रणालीको अभ्यासमा छ । दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको छ ।

    परिर्वतन परिवारमा सिमित, नागरिक र व्यवस्था परिर्वतनका लागि लडेकाहरुको अवस्था उस्तै

    प्राप्त परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुकेको मात्रै होइन्, लगभग असफल देखिएका छन् । कोरोना महामारी जस्तो गम्भीर संकटको बेला, चर्चामा रहेका ओम्नी, यतिलगायतका काण्ड र अहिले चर्चामा रहेका सुन, ललिता निवास र भूटानी शरणार्थी काण्डले नागरिकमा दलप्रति घृणा जन्माएको छ । त्यसमा शीर्ष दलका केही नेता र उनीहरुकै परिवार तथा निकटवर्तीको संलग्नताले त झनै आम नागरिकमा आक्रोश बढाएको छ । 

    लोकतन्त्रकै जगमा देशको राजनीति अघि बढिरहेकाले सुशासन र आर्थिक समृद्धिमा ध्यान दिन सरकार र दलहरुलाई  नागरिक समाजका अगुवाहरुको सुझाव छ । ६२—६३ को आन्दोलनमा नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने मध्येका एक कृष्ण पहाडी, यो संविधानको विकल्प खोज्न नहुने तर्क गर्छन् । तर, यसको कार्यान्वयनमा चुक्ने नेताहरुको विकल्प खोज्न सकिने उहाँको मत छ । उहाँ भन्नुहुन्छ्‘जनताले बनाएको संविधान नमान्ने हो भने केलाई मान्ने त ? राजाले दिएको संविधान मान्ने ? पद्म समशेरले दिएको संविधान मान्ने ? महेन्द्रले दिएको पञ्चायती संविधान मान्ने ? यावत सारा प्रश्नहरु छन् । त्यसैले संविधानको विकल्प खोजिनु हुदैन् ।’ 

    तर संविधानका अपूर्णतालाई पूर्णता दिने कुरामा भने कन्जुस्याँई गर्न नहुने उहाँको सुझाव छ । नेताहरुले यो संविधानका व्यवस्थालाई अपव्याख्या गरेर राष्ट्रिय पञ्चायतको शैलीमा काम गरेको विशेष गरी समानूपातिक प्रणालीको व्यापक दुरुपायोग भएको उहाँको भनाई छ । मुलुकमा भ्रष्टाचार मौलाएको र सुशासन कामय हुन नसकेकैले आम नागरिकको संविधान र यो व्यवस्थाप्रति नै गम्भीर असहमति मौलाएको उहाँको बुझाई छ । 

    त्यस्तै ६२—६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नागरिक समाजका अर्का अगुवा दमननाथ ढुङ्गानालाई पनि आन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका खेलेकोमा गम्भीर आत्म ग्लानी त छैन् । तर आन्दोलन पछि प्राप्त उपलब्धी संस्थागत गर्ने र नागरिकका आधारभूत आवश्यकता पुरा गर्ने सवालमा भएका गम्भीर लापरबाहीप्रति भने चरम असन्तुष्टि छ । उहाँ भन्नुहुन्छ् ‘ यो संविधान ठुलो उपलब्धि हो । यसले राज्यकै पुनःसंरचना गरेको छ ।

    जस्तो राजतन्त्र नहुनु, संघीयतामा जानु यो ठुलो परिर्वतन हो । तर के छ भने देशमा अघिल्लो प्रणालीबाट अर्को राजनीतिक परिर्वतन अर्को प्रणालीमा जाँदा जनताले के सोच्छ भने त्यो प्रणाली भन्दा यो प्रणाली राम्रो होला ,त्यो व्यवस्था भन्दा यो व्यवस्था राम्रो होला। जन जीविकाका समस्या हल होलान् । सबैले स्कुल जान पाउलान । मंहगी कम होला । रोजगारी होला सबैको स्वास्थ्य उपचारको व्यवस्था होला । दैनिक रुपमा जे चाहान्छ नागरिकले त्यो होला भन्ने आस गरेको थियो । त्यो चै सरकारले काम गनै सकेन् ।’

    अहिले सबैभन्दा ठुलो समस्या यो परिर्वतनका लागि लडेका पार्टी र तीनको नेतृत्वमा सबैभन्दा ठुलो समस्या देखिएको बताउनुभयो । ‘जसले यति ठुलो परिर्वतन ल्याए, त्यसले यो परिर्वतनलाई लागु गर्न सकेन ।’ उहाँले भन्नुभयोे तर नागरिक समाज आफ्नो जिम्मेवारीबाट पन्छिएको विषयमा भने उहाँले नागरिक समाजले परिर्वतनका लागि साथ दिएको तर कार्यान्वयनमा सहभागि नभएको हुदाँ त्यसो भन्न नमिल्ने तर्क गर्नुभयो ।

    अर्कोतिर सत्तामा पुगेपछि राजनीतिक दलले संविधानसँगै, शहीद र घाइतेको उपहास गरिरहेको गुनासो आन्दोलनमा गोली खानेहरुको छ । ६२—६३ को आन्दोलनमा गोगंबुमा गोली लागि गम्भीर घाइते भएका ढाल बहादुर बस्नेतलाई आफू तत्कालिन आन्दोलनमा सहभागि भएकोमा पुरै पछुतो छ ।  यही व्यवस्थालाई टेकेर अधिकांस दलका नेताहरु गाडि फेर्ने हैसिएतमा पुगे पनिदिसा पिसाव गर्न र खान पनि अरुको सहरा लिनु पर्ने कष्ठकर जीवन बाँचिरहेका बस्नेत बिग्रिएको ह्वीलचेयर कस्ले बनाइदेला भन्ने पिरालोमा छन् ।

    औषधोपचार गर्न अस्पताल सम्म जान पनि अपाङ्ग भएकै कारण सार्वजनिक सवारी साधनले समेत बोक्न अस्वीकार गर्छन् । चार सन्तान पढिरहेका छन् उनीहरुको पढाई र घर खर्च अनि आफ्नो स्याहारका लागि एक जना अनिवार्य त्यसमाथि सरकारले दिएको सुविधा लिन खेप्नु पर्ने हैरानीले उहाँलाई विरक्त्याएको छ । 

    उहाँ भन्नुहुन्छ् ‘ शिक्षा स्वास्थ्य सबैले पाउन, एक गाँस सबैले खान पाउनु, अधिकार सबैलाई होस् भनेर लडियो । तर अहिले अधिकार होइन् । यो त हामीलाई यो भन्दा पीडा केही छैन् । राज्यले हामीलाई एक दिन सम्झिँदैन् । के छ हामीलाई । शहिद परिवारको के छ । घाइते अपाङ्गको के छ भनेर हेर्दैन् ।’ संविधान र अहिलेको व्यवस्था नै नेतामुखि भएको उहाँको आरोप छ । 
    ‘नेतामुखि भयो ।

    पहिले राजा एउटा थियो भने अहिले प्रान्त प्रान्त गरेर भाग लगाएर सबै राजा भए ।’जनआन्दोलनबाट जुन उपलब्धि प्राप्त भयो त्यो पक्कै पनि चानचुने कुरा होइन् तर त्यसको कार्यान्वयनमा दलहरुको मूल्य र आचारणमा भने चौतर्फि प्रश्न उठेको छ । थापाथलीमा गोली खाएका अर्का घाइते नरेन्द्र रौलेले त अब अर्को जनआन्दोलन गर्नु पर्ने आवश्यकता देखेका छन् । 

    उहाँ भन्नुहुन्छ्, ‘ संधिवान बन्न नबन्नुसंग कुनै सरोकार छैन् जनताको, उनीहरु त आफ्नो जीवन यापन राम्रो होस् सहज होस् भन्ने चाहान्थे र अहिले चाहान्छौँ । गणतन्त्र आउनुले, संविधान बन्नुले कसैको पनि यहाँ परिर्वतन भएको छैन् । खुसियाली छाएको छैन् । फेरी एउटा अर्को जन आन्दोलन गर्नु पर्ने मोड आईपुगेको छ । १७ वर्षविते पनि फेरी अर्को जन आन्दोलन गर्नु पर्छ की भन्ने भावनामा चै हामी आइपुगेका छौँ ।’  

    राजनीतिक रुपान्तरण भएपनि आर्थिक र समाजिक रुपान्तरण हुन नसकेको उहाँको बुझाई छ । त्यसको मुख्य कारण राजनीतिक दल नै भएको उहाँको आरोप छ । जन आन्दोलनका शहिदका परिवार र घाइतेलाई सरकारले न्याय गर्न नसकेको उहाँको भनाई छ । गणतन्त्रका नेताहरुको आचरण, चरित्र, रहनसहनका बारेमा रौलेको तीखो टिप्पणी छ । 

    ‘आम जनताको जीवन यापन झनै कष्टकर भएको छ । नेताहरु र उनीहरुको आसेपासेका लागि गणतन्त्र आयो । बाँकी आम नगरिकका लागि एक छाक खान धौधौ छ । महंगी बढ्दो छ । सिमित व्यक्तिका लागि मात्रै गणतन्त्र आएको छ । बाँकी लाखौँ जनताको लागि एक छाक खान परिवार पाल्न विदेशीनु परेको छ । ’ उहाँ भन्नुहुन्छ् ‘ नेता र उनीहरुका मान्छेहरुलाई मस्ती छ । बाँकी पार्टीमा नलाग्ने स्वतन्त्र जो छन् उनीहरुको जीवन अत्यन्तै कष्टकर छ । 

    शसस्त्र युद्धको पृष्ठभूमी र जनआन्दोलनको जगमा निर्मित संविधान सभाद्वारा संविधान जारी भएको दिन असोज तीनलाई धेरैले गर्व गर्नुपर्ने हो । अझ यो व्यवस्थाका लागि लडेकाले त झनै बढी सम्झनु पर्ने हो । तर बिड्म्वना  यो  व्यवस्थाका लागि निस्वार्थ लडेका र अगुवाई गरेका केही राजनीतिक दल बाहेक अधिकांशलाई यो दिन निर्रथक जस्तै लाग्नु आफैँमा दुखद कुरा हो । यो व्यवस्थाका लागि लडेका शीर्ष दलका जिम्मेवार नेताले शुसासन र समृद्धीका लागि आवश्यक भूमिका खेल्न थप ढिला गर्ने हो भने मुलुकलाई थप क्षति मात्रै पुग्दैन् । दलहरुले ठुलो मुल्य चुकाउनु पर्ने हुन सक्छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend