काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको हो ।
उहाँले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उहाँको भनाइ छ । उहाँले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बदनाम हुनुबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।