बर्दिया । नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली छठ पर्व तथा नेपाल संवतको पावन अवसरमा निर्माण ब्यवसायी संघ बर्दियाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्ट रहनुभएको थियो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,बढ़ैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी,नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय सदस्य गंगा पोखरेल,लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव भेषराज पौडेलको उपस्थिती रहेको थियो ।
त्यसैगरी राजनितिक दलका प्रमुख एवं प्रतिनिधी,सडक पुर्वाधार विकास कार्यालयका प्रमुख गोविन्द बहादुर महतरा,बबई भादा औरही नदी व्यवस्थापन आयोजनाका लेखा प्रमुख बखत बहादुर खडका, उद्योग व्यापार संघ, समाजसेवी, होटल व्यवसायी संघलगायतको उपस्थिती रहेको संघका सचिव जगदिश अधिकारीले बताउनुभयो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले निर्माण व्यवसायीमा देखिएका समस्याको समाधानको निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए । निर्माण व्यवसायीहरुले घटाघट नगरी गुणस्तरिय कार्य गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । शुभकामना कार्यक्रममा बोल्दै वक्ताहरुले विकास निर्माणमा व्यवसायीहरुसँग नङ र मासुको जस्तै सम्वन्ध रहेको भन्दै यसप्रति सबै सचेत भएर अगाडि बढे मात्र विकासले सही गति लिने धारणा ब्यक्त गरेका थिए ।