काठमाडौँ । एसीसी यु-१९ प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३ सय ४८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
मलेसियाको वाईएसडी युकेएम टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो। नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। उनले १७ चौकाको मद्दतमा १११ बल खेल्दै १४२ रन बनाए। आकाश त्रिपाठी ८९ रन बनाएर आउट भए। उनले ९ चौका र ६ छक्का हाने।
दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ८९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा २९ रन बनाएर आउट हुँदा विक्रम केसी २४ रनमा नटआउट भए।
त्यस्तै दीपकप्रसाद डुम्रेले १४ रन बनाए। दिपेश कंडेल १४ रनमा क्रिजमा रहे। कप्तान देव खनाल शून्य रनमा आउट भए। यस्तै मिलन बोहोरा ९ रन बनाएर पेभिलिएन फर्किए। नेपालले २६ रन अतिरिक्त पाएको थियो।
साउदीका बलर मोहम्मद अहमद राजा र मोहम्मद गयुर अहमदले समान २र२ विकेट लिए। अब्दुल सिराज, जुहेर मोहम्मद र साजिब मुजिबुर रहमानो नाममा एक एक विकेट रह्यो।
सुरुवाती दुवै खेल जितेका नेपाल र साउदी समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने योजनामा छन्। एसिया कप पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जित अनिवार्य छ ।
आफ्नो दोस्रो खेलमा बायाँ हाते युवा स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपालले इरानलाई २ सय ७४ रनले हराएको थियो।