रोल्पा।रोल्पाको परिवर्तन गाउँपालिकाले भुकम्प प्रभावित दुई नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने बताएको छ।आइतबार बसेको बैठकले दुई नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने निर्णय गरेको हो।आइतबार बसेको परिवर्तन गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाड नगर पालिका र रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकालाई आर्थिक र राहत सहयोग गर्ने निर्णय गरिएको स्थानीय विपद व्यवस्थापन समितिका सदस्य पत्रकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ।
कार्तिक १७ गते शुक्रबार राति ११ ४७ को समयमा जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निट्युडको विनाशकारी भुकम्पले जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा अन्य ठाउँको भन्दा धेरै मानवीय र भौतिक क्षति गरेकोले आपत विपत्तको समयमा सहयोग गर्ने भावनाका आफ्नो पालिकाले सक्दो सहयोग गर्ने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनुभएको छ।
आपत विपत्त कतिबेला कुन समयमा आउछ त्यो कसैलाई थाहा नहुने र आफ्नो जिल्ला आफ्नो पालिकामा पनि आउन सक्ने भएकोले त्यसलाई मध्यनजर गर्दै,हामी यो जिल्लाको हामी त्यो प्रदेशको नभनी सहयोग गर्नुपर्ने बताउनु भएको छ’उहाँले भन्नुभयो।त्यस्तै आपत विपत्त र दुखको समयमा गरेको सहयोगले दुई पालिका बीचको सम्बन्ध प्रगाढ हुने परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.ले बताउनु भएको छ।
हामीसँग त्यति धेरै आर्थिक सहयोग नहोला तर कम भए पनि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने छौँ” उहाँले भन्नुभयो।परिवर्तन गाउँपालिकाको लेखा शाखासँग छलफल गर्ने र परिवर्तन गाउँपालिकाको संञ्चित कोषबाट भूकम्प प्रभावित दुई नगरपालिकालाई आर्थिक सहयोग गर्ने पालिकाले बताएको छ।आपत विपत्तको समयमा जो जहाँ भए पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनाले दुई नगरपालिकालाई आर्थिक र राहत प्याकेजको रूपमा सहयोग गर्ने बताइएको छ।