गुल्मी । भुस्याहा कुकुरको टोकाइबाट गुल्मी जिल्लाको छत्रकोट र रुरुक्षेत्र गाउँपालिकाका १७ जना सर्वसाधारण घाइते भएका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा बुधबार र बिहीबार दुइ दिनको अवधिमा भुस्याहा कुकुरको टोकाइबाट १७ जना ब्याक्तिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बुधवार ३ जना र आज बिहिबार १४ जनालाई बाटोमा हिडिरहेको अवस्थामा टोकी घाइते बनाएको र घाइतेलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
भुस्याहा कुकुरले १३ वर्षीय बालकदेखि ७५ वर्ष उमेर समुहका महिला तथा पुरुषलाई दुवै खुट्टा र हातमा टोकेर घाइते बनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी सम्बन्धित स्थानीय तहले भुस्याहा कुकुरदेखि सावधान रहन र शंकास्पद कुकुर देखेमा तुरुन्तै खबर गर्न आग्रह गरेको छ।
प्रहरीले स्थानीयको सहजीकरणमा मान्छेलाई टोक्दै हिड्ने रेविज लागेको जस्तो व्यहार देखाउने भुस्याहा कुकुरलाई नियन्त्रणमा लिई रेविज लागे/नलागेको पहिचानका लागि निगरानीमा राखिएको जनाइएको छ ।
केही समय अगाडि गुल्मीको सदरमुकाम तम्घास र चन्द्रकोट गाउँपालिकामा पनि भुस्याहा कुकुरले टोकेर धेरै जनालाई घाइते बनाएपछि रेसुंगा नगरपालिका र चन्द्रकोट गाउँपालिकाले नियन्त्रणमा लिई रेविज लागेको/नलागेको र रेविज विरुद्दको खोप दिने अभियान संचालन गरेका थिए।