काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरुको महान चाड तिहार तथा नेपाल सम्वत्को नयाँ वर्ष ११४४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । तिहारले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको बताउनु भएको छ ।
त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाः को योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वाः लाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको बताउनु भएको छ ।
अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वत्को नयाँ वर्षको उपलक्ष्यमा सभापति देउवाले सबैमा सुख, शान्ति र समृद्धिको समेत शुभकामना व्यक्त गर्नु भएको कुरा शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।