Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गाउँको पाखोबारीमा चियाखेती


१०, मंसिर २०८०
  • 146
    SHARES
  • गाउँको पाखोबारीमा चियाखेती

    बागलुङ । बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । 

    परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ ।

    झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

    “मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो । गत साउन र भदौमा किसनाले चिया टिपे र झण्डै तीन लाखको बिक्रीसमेत गरेका छन्”, उहाँले भन्नुभयो, “सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ ।” 

    यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ ।

    अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन् । गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताउनुभयो । यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

    गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेल जानकारी दिनुभयो । चियाखेतीमा करिब दुई सय घरपरिवार आवद्ध रहेकाले आम्दानी सबैले पाउने उहाँको भनाइ थियो । 

    चिया खेतीबाट वार्षिक रू ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताउनुभयो । “यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ । गत साउन र भदौमा पहिलो पटक चिया टिपेर रू तीन लाखको बिक्री पनि गरियो । चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ ।” 

    अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उहाँले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आवद्ध भएर काम गरिरहेका छन् । 

    यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब रू ४२ लाख खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उहाँको भनाइ छ । 

    कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उहाँको भनाइ छ ।

    “बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन् । अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ । सुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो,” कार्कीले भन्नुभयो, “यहाँबाट आम्दानी हुन थालेको छ । गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ । अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ ।”

    समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताउनुभयो । यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चिया खेती विस्तार गर्ने उहाँको भनाइ छ । 

    कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताउनुभयो । अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend