बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन गरिएको हो ।
कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाईने र गरेमा कारवाहीमात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका बिषयमा समुदायलाई सचेत बनाउने गरि सडक नाटक प्रदर्शन गरेका थिए ।
त्यसैगरी विद्यार्थीले लागू औषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दिर्घकालीन स्वास्थ्य असर, बहुबिबाह गर्दा कानुनी दण्डको ब्यवस्था र जरिवाना लगायतका बिषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन ।
सडक नाटककै अवसरमा मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने बिषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर ब्यवहारमा लागू गर्न अनुरोध गरे।
उनले सवै प्रकारका हिंसाबाट कञ्चन गाउँपालिकालाई मुक्त गर्ने अभियानमा कञ्चनमा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको सम्झाए। ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको हो ।
त्यस अवसरमा कञ्चन गाउँपालिकामा विभिन्न सडक नाटक प्रदर्शन भएको हो । कार्यक्रममा उपाध्यक्ष मौसमि थापा मगर ,प्रमुख प्रशासकिय अधिकृत सागर गौतम लगायतले बोलेका थिए ।