बुटवल । नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ। जिल्ला सम्मेलन मंगलबार भव्यताका साथ सम्पन्न हुन गइरहेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।
उनले सिद्धार्थनगर नगरपालिका-१३ स्थित पटवा ब्याङ्केट (पुरानो महेन्द्र सभा गृह) मा बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने जानकारी दिए ।
सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने खाणले जानकारी दिए ।
सम्मेलनमा ३ हजार ४५ जना जिल्ला प्रतिनिधिहरुको सहभागीता रहने उनले बताए । कांग्रेसका कार्यकर्तालाई गतिशिल, क्रियाशिल र कार्यकर्ताको आत्मविश्वास बढाएर हामी अगाडि बढ्ने हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका खाणले १४ औं महाधिवेशनमा निर्वाचित भएपछि जिल्लाको यो पहिलो सम्मेलन भएको र अर्कोचोटिगर्दा दोस्रो सम्मेलन हुने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देशको समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने दावी गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले मुलुकमा संघीयताको महसुस गरिएकोले नै संघीयता आएको बताए ।