काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसंग बुझ्न सकेमात्र बिभिन्न टिकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताउनुभएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति बिभिन्न टिका टिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताउनुभएको हो । कांग्रेसलाई जनतामाँझ लोकप्रीय बनाउनुमा मुखपत्रहरुको भुमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकमा सुशासनको खडेरी परेको भन्दै अबको मिसन सुशासन हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले अहिले रोइलो गरेर मात्रै केहि नहुने भन्दै पार्टी सुध्रिन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कांग्रेसका महामन्त्री गगन थापाले अहिले नागरिकहरु कुशासनले आजित भएको र एउटा काण्ड सेलाउन नपाउदै अर्को काण्ड आउने गरेको जिकिर गर्नुभयो । कांग्रेस सरकारमा भएका बेला भइरहेको कुशासनका घटनालाई उजागर गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै कांग्रेस नेता डा. मिनेन्द्र रिजालले अहिले जनताले सुशासनको चाहना गरिरहेको अवस्था कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।