काठमाडौँ । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश बिजयी भएका छन् । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो ।
जितको लागि ८८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कोशीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगमले सर्वाधिक ४१ रन बनाइन् । बागमतीकी संस्कृति फुँयाल र सोनी पाख्रिनले १–१ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।
त्यस्तै शुक्रबार नै गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले हराएको छ । जितको लागि १ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनायो । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो ।
त्यस्तै त्रिवि क्रिकेट मैदानमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गर्यो । जितका लागि पाएको ४१ रनको सामान्य लक्ष्य एपीएफले छैटौं ओभरमा भेट्टायो । यसअघि पहिला ब्याटिङ गरेको मधेशले १९.२ ओभरमा अल आउट हुँदै ४० रन मात्र बनाएको थियो ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । मुलपानी मैदानमा जवाफी व्याटीङमा उत्रेको सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।