गुल्मी । गुल्मीकाे छत्रकाेट गाउँपालिकामा बिशेषज्ञ डाक्टरको सेवासुविधा दिने गरी पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको छ ।
छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा स्थापना भएको उक्त हस्पिटल आगामी १४ गते उद्घाटन हुने खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडका संचालक समितिका अध्यक्ष सराेज पाण्डेले जानकारी दिए ।
पत्रकार सम्मेलन गर्दै संचालक समितिले १५ शय्याको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि स्थापना भएको जानकारी गराउँदै उद्घाटनपछि सेवा शुभारम्भ हुने बताएको छ ।
गुल्मीको छत्रकाेट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने प्रयासले हाल संचालनमा ल्याइएको हो ।
उक्त अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका एक सय ३५ शेयर सदस्यकाे बराबरी लगानी गरी दुई समितिबीच समझदारी भई पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि संचालनमा आएको अस्पतालका खर्ज्याङ्ग पब्लिक हेल्थका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले जानकारी दिए ।
“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ अस्पतालकाे स्थापना भएको हो । यस अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको बराबरी लगानीमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको हो ।
अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पतालका संचालक सराेज पाण्डेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष तथा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल खर्ज्याङ्गका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए ।
त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक रामप्रसाद पाेखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूकाे समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीकाे सिमाना गुल्मीको छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताए । उनले खर्ज्याङ्गका स्थानीयकाे उत्साह र गुल्मीकाे गुल्मीदरबार, छत्रकाेट र रुरुक्षेत्रका सराेकारवालाकाे सहयोगका कारण अस्पताल स्थापना गर्न सम्भव भएको बताए ।