नेत्र मरासिनी,अर्घाखाँची । अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालनमा आएका छन् ।
सन्धिखर्क बसपार्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा गरी दुई ठाउँमा चार्जिङ स्टेसन निर्माण भएपछि विद्युतीय सवारी गाडी सञ्चालनमा सहजता भएको हो । अर्घा भगवती यातायात प्रालिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको छ भने पश्चिम नेपाल बस व्यबसायि प्रा.ली.ले पनी सन्धिखर्क देखि बुटवल सम्म ४ वटा विद्युतीय गाडी सञ्चालन गरेको छ ।
हरेक दिन बिहान भूमिकास्थान नगरपालिकाको ढाकावाङ र असुरकोटबाट सन्धिखर्क हुँदै बुटवलसम्म र मालारानी गाउँपालिकाको खनदहबाट बिहान ७ बजेट गाडी छुट्ने व्यवस्था गरिएको अर्घाभगवती यातायात प्रा.ली.का अध्यक्ष पदम क्षेत्रीले बताउनुभयो ।
जिल्लामा पहिलो पटक सञ्चालन भएका ११ सिटर माइक्रो गाडीमा पहाडको प्रतिकिलोमिटर भाडादर ८ रुपैयाँ, सन्धिखर्क–गोरुसिंगे सडक खण्डअन्तर्गत सन्धिखर्क–पथ्थरकोटसम्म प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा कायम गरिएको क्षेत्रीको भनाईरहेको छ । यसरी सन्धिखर्क–बुटवलको एक यात्रुको भाडादर ४ सय ८० रुपैयाँ कायम हुन्छ ।
‘पहाडमा गाडी परीक्षण गरेर सफल भएपछि मात्रै सवारीका रूपमा सञ्चालन गरेका हौं,’ अध्यक्ष क्षेत्रीले भने, ‘गाउँका कच्चीबाट सबै ठाउँमा सहजै गाडी चल्यो । यात्रुलाई भाडा सस्तो र आरामदायी छ ।’ गाडीमा वाइफाई सुविधासहित सीसी क्यामरा जडान गरिएको छ । डिजल गाडी भन्दा कम भाडामा यात्रा गर्न पाएपछि यात्रुहरुमा पनी आक्रषण बढेको छ ।