बुटवल । बुटवल उपनगरपालिका-७ शिवनगरमा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मंगलवार सामुदायिक वनको परिसरमा नव निर्मित कभर्ड हलमा आयोजित पत्रकार सम्मेलनमा खेलको माध्यमबाट समुन्नत र स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रको लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नारालाई अंगिकार गरी क्लवले यही पौष २० र २१ गते प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न गईरहेको क्लवका अध्यक्ष बोनिन पियाले पत्रकार सम्मेलनमार्फत बताउनुभयो ।
प्रतियोगितामा पुरुष डबलतर्फ प्रथम हुनेलाई नगद रु.५१,१११। द्वितीयलाई ३५,१११। तथा तृतीय हुनेलाई २१,१११ । र ट्रफी, मेडल सहित पुरस्कार प्रदान गरिनेछ भने भेट्रान्स तर्फ क्रमशः ३१,११११। २१,११११ र १५,१११। र ट्रफी तथा शिल्ड, मेडल एवं प्रमाण पत्र समेत प्रदान गरिनेछ । साथै अनुशासित, उदयमान र उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि खुल्ला तर्फ प्रवेश शुल्क रु.३०००। र भेट्रान्स तर्फ रु. २५००। राखिएको छ । यस प्रतियोगिता सम्पन्न गर्न करीब रु.१३ लाख खर्चको अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरपालिकासँग सहकार्य गरिएको कार्यक्रम संयोजक रोहित पुरीले जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले राष्ट्रिय प्रतियोगितामा हुने नियम अनुसार खेलाडी र टिम छनोट गरी खेल खेलाउन सुझाव दिनुभयो ।
यस खेलमा प्रदेश भरिका करीब २०० जना खेलाडीहरुको प्रत्यक्ष सहभागिता रहनेछ भने खेलको आयोजनाले नयाँनयाँ खालका प्रतिभाको प्रस्फुटन हुने विश्वास लिइएको छ । यस कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न खालका उपसमितिहरु गठन गरी तयारीलाई तिव्र पारिएको छ । हालसम्म विभिन्न जिल्लाबाट करीब ३० टिमले सहभागिता जनाइसकेको बताइएको छ ।
१३ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ८ लाख रुपैयां बजेट दिने समझदारी भएको बताइएको छ ।