बुटवल । नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले संघ सरकारलाई अनुरोध गरेको छ।
बुटवलको जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गर्नुभयो ।
उहाँले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताउनुभयो।
यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु,प्रमुख पाण्डेयले भन्नुभयो।
उहाँले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताउनुभयो।
त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोंचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताउनुभयो उहाँले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताउनुभयो।
बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।