बुटवल । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुनस्निर्माणपश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गर्नुभएको हो । गरुड दल गणले संरक्षण र पुनस्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले गर्नेछ।
किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताउनुभयो।
उहाँले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताउनुभयो।
यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु,प्रमुख पाण्डेयले भन्नुभयो।
प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गर्नुभयो।





