गुल्मी। गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर-४,रानीबासमा प्रहरी चौकी स्थापना गरिएको छ।विद्यालय समायोजनपछि खाली रहेको बलेचौर प्राथमिक विद्यालयको भवनलाई गाउँपालिकाले मर्मत सम्भार र व्यवस्थापनको कार्य गरेपछि प्रहरी चौकी स्थापना गरिएको हो ।
प्रहरी चौकी रुरु रानीवासको औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)नवीनकिशोर प्रधानले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले प्रहरी चौकी स्थापनाको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।
प्रहरी चौकी स्थापनाले यहाँको भरपर्दो शान्ति सुरक्षा र विपद् व्यवस्थापन लगायतका कार्यका लागि गाउँपालिकालाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रिडी र प्रहरी चौकी रुरुले पालिकाभित्र शान्ति सुरक्षा,अमनचैन,अपराध नियन्त्रण र विपद व्यवस्थापन लगायतमा महत्त्वपूर्ण पुग्ने विश्वास लिनु भयो ।
त्यस्तै अर्का वक्ता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)नविनकिशोर प्रधानले हरेक स्थानीय सरकारको केन्द्ररसदरमुकाममा नेपाल प्रहरीको चौकी स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।
नागरिकसँग नेपाल प्रहरीले पालिकाको सबै क्षेत्रमा गस्ती गरेर नागरिकको घर,पसल,व्यवसाय लगायतको शान्ति सुरक्षामा विशेष प्रबन्ध मिलाउने प्रतिबद्धता ब्यक्त एसपी प्रधानले समाजमा घटने घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा नेपाल प्रहरीसँग आवश्यक समन्वय सहकार्य गरेर अगाडि बढ्नका लागि नागरिकलाई आग्रह गर्नुभयो।
एसपी प्रधानले नेपाल प्रहरीले सत्य सेवा सुरक्षणम् भन्ने मूल मर्मलाई आत्मसात गरेर शान्ति सुरक्षा कायम,अपराध अनुसन्धान तथा नियन्त्रण र विपद व्यवस्थापन सम्बन्धी काम गर्ने कुरालाई ध्यानमा राखेको बताउनुभयो ।
स्थापना भएको प्रहरी चौकीले अपराध अनुसन्धान,शान्ति सुरक्षा अमनचैनसँगै विपद व्यवस्थापनको लागि गाउँपालिकाको सहयोग र समन्वयमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी आफैँ एक्लैले काम नगर्ने र नागरिकसँग मिलेर काम गर्ने हुँदा नागरिक,समुदाय र प्रहरीको समन्वयमा जस्तोसुकै काम पनि प्रहरीले गर्न सकिने हुँदा गाउँपालिकालाई शान्ति सुरक्षा,अमनचैन राख्न सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
पन्ध्र जनाको दरबन्दी स्वीकृत भएको प्रहरी चौकीमा अहिले प्रहरी सहायक निरीक्षक रामसिंह क्षेत्रीको नेतृत्वमा दश जना प्रहरी कार्यरत रहेका छन ।
प्रहरी चौकी स्थापनाबाट बलेटक्सार बजार, रानीबास बजार,रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर २,३,४,५ र ६ का वासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने जिल्ला प्रहरी कार्यालय जनाएको छ ।