बुटवल। पाल्पाको तिनाउ गाउँपालिका वडा न ३ सिद्धबाबा मन्दिर नजिक बन्दै गरेको सुरुङ मार्गको काम चल्दै आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने जोखिम क्षेत्रमा सुरुङ मार्ग बनाउन थालिएको हो।
लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरुलाई जोड्ने उक्त सडकमा धेरैले अकालमै ज्यान गुमाउन परेको समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छ। बर्षात्मा र हिउँदमा पनि सुख्खा पहिरो झर्ने समस्याले दुर्घछना निम्त्याउँदै आएको छ ।
उक्त जोखिमपूर्ण सडकको समस्यालाई दीर्घकालिनरुपमा हल गर्नका लागि सुरुङ मार्ग बनाउने योजना अघि सरेको छ। टेन्डर आह्वान गरिएकोमा ठेक्का सम्झौता गर्न करिव ९ महिना लागेको सुरुङ मार्गको निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ ।
सुरुङ मार्ग १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङ मार्गको निर्माणकार्य सक्न २०८३ समयावधि तोकियो । निर्माणकार्य २०८० भदौ समान्तबाट शुरु गरिएको थियो। काम शुरु भएको चार महिना पुग्दैछ । निर्माणकार्य शुरु भएको समयले काम भने कछुवा गतिमा चलेको देखिन्छ। काम शुरु भएको ४ महिनामा जम्मा १ मिटर खनिएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जनाउनुभयो ।
उहाँले भन्नुभयो, सुरुङको मुख्य भाग (सिद्धबाबा मन्दिर) को डिजाइन पास भएर काम भइरहेको छ। इभ्याकुएसन इमर्जेन्सी टनेलको पनि काम अगाडि बढाईएको छ । तहगत रुपमा डिजाइन बनाउनुपर्ने र सोही अनुसार निर्माणलाई सँग लैजानुपर्छ। ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म १२ प्रतिशत अर्थात ८८ करोड रुपैयाँ खर्च भएको बताईएको छ।