यमुना चौधरी/ बुटवल । खेलकुद मनोरञ्जनको खेमा मात्रै होइन्, जीवनलाई स्वस्थ बनाउने आयाम हो । यही खेललाई कोहीकसैले व्यक्तिगतरुपमा स्वास्थ्यलाई सन्तुलन राख्नको लागि निरन्तरता दिन्छन् भने, कसैले व्यावसायीक बनाउँछन् ।
त्यस्तै लयमा हिड्दैछिन्, तिलोत्तमाकी सात बर्षिय साया नेपाली । सानै उमेरमा छुट्टै पहिचान बनाउन सफल तिलोत्तमाकी तेक्वान्दो खेलाडी साया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सामेल भईसकेकी छिन् ।
२०७३ सालमा पाल्पाको रामपुर नगरपालिका १२ जबगादीमा जन्मिएकी उनि परिवारको बसाइसँगै २०७५ तिर बुटवल झरिन् । तिलोत्तमा नगरपालिका वडा न ४ सिमानगर झरेकी साया अहिले कक्षा २ मा बुटवल पब्लिक स्कुलमा अध्ययनरत छिन् । खेलमा रम्न मन पराउने उनले तेक्वान्दोमा राम्रो शुरुवात देखाउँदै आएकी छिन् ।
उनका डोजाङ्ग प्रशिक्षक बिष्णु कुमार चौधरीले दरिलो प्रशिक्षण दिदै आएका छन् । जुसले गर्दा सायाले डोजाङ अन्तर्गत अब्बल ग्रिन वेल्ट समेत चुमी सकेकी छिन् । खेलले समाजमा रहेका विकृतिलाई निरुत्साहित पार्न देशलाई विश्वसामू चिनाउन मद्दत गर्दछ ।
बालबालिका तथा युवाहरुलाई कुलतबाट जोगाउन यसको महत्वपूर्ण भूमिका रहन्छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” उक्त नारा नै सबै सारांश दिईसकेको छ । २०७८ सालदेखि तिलोत्तमा तेक्वान्दो डोजाङ्गमा छिरेकी उनले छोटो समयमा उपलब्धि देखाई सकेकी एक पात्र मानिन्छिन् ।
ललितपुरमा भएको प्रथम तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता २०२३ मा फाईट तर्फ अन्डर १८ किलो प्रतिष्पर्धामा प्रथम भएकी थिइन् । जुन सफलताले बुटवल पब्लिकका प्रध्यापक हेमलाल शर्मा प्रभावित बन्दै अध्ययन शुल्कमा १५ प्रतिशत छुटको प्रवन्ध गरेका थिए । सानै उमेरमा छुट्टै पहिचान बनाउन सफल सायाले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधिहरु जित्न सफल भइसकेकी छिन् ।