काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य पेश गरेको छ । मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन जोड्यो ।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हिर्काउँदै ५४ रन जोडे ।
कप्तान रित गौतमले ४४ रन जोड्दा अशोक पौडेलले ३१, रविन जोशीले २४ तथा इशान पाण्डेले २, विपीन आचार्यले १२,सूर्य तामाङले ९ तथा प्रतिश जिसीले १८ रन जोडे भने सोनु देवकोटा २० बलमा २८ रन र कृजल गुरुङ १ बलमा ४ रन जोड्दै नटाआउट रहे ।
बलिङतर्फ सुदूरका नारायण जोशी र शेर मल्लले समान तीन तथा विकाश आग्रीले २ र मिलन बोहराले १ विकेट लिए ।
त्यस्तै आजको अर्को खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई तीन सय ३६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले ।
उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए । यस्तै अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए ।
रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए । बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक एक विकेट लिए । अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ । उसले सात ओभरमा ४२ रन बनाएको छ ।