बाँके । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा झण्डै २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।
संघको आयोजनामा नेपालगन्ज रङ्गशालाको कभर्डहलमा सुरु भएको प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईद्धारा गरिएको छ ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव भट्टराईले मुलुकमा संघीयता लागु भएको ६ वर्ष पुग्दा पनि खेलकुद क्षेत्रमा संघीयताको पुर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
उहाँले खेलकुद अहिलेपनि संघीयता अघिको संरचनामा चल्न खोजेको बताउँदै ऐन र कानुनहरु बनेपनि खेलकुद क्षेत्रमा त्यसको कार्यान्वयन फितलो भएको बताउनुभयो ।
प्रदेश खेलकुद परिषदले खेलकुदको विकासका लागि ४ वटा आधार स्तम्भ तयार गरेर अगाडि बढेको उहाँले जानकारी दिनुभयो । पहिलो निती निर्माण, दोस्रो भौतिक संरचना, तेस्रो जनशक्ति र चौथो खेल गतिबिधि सहितको आधार स्तम्भ बनाएर परिषदले काम गरिरहेको उहाँको भनाइ छ ।
स्पष्ट निती नहुँदा खेलकुद क्षेत्रमा भएका करोडौंको संरचना लथालिंग बन्दै गएको बताउँदै सदस्य सचिव भट्टराईले लुम्बिनी प्रदेशको खेलको विकासलाई मात्र २५० जनशक्ति आवश्यक पर्ने परिषदले दरबन्दी प्रतिबेदन तयार गरेको जानकारी दिनुभयो ।
उहाँले नयाँ पुस्तालाई ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाइरहन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो । बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले बिगतमा बाँकेले मात्र १८ पुरुष र ४ महिला अन्तराष्ट्रिय ब्याडमिन्टनको खेलाडी जन्माएको स्मरण गर्दै प्रतियोगिताले बाँकेको पुरानो शाख फर्काउने दाबी गर्नुभयो ।
१३ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका दुई सय ५० जना खेलाडी नेपालगन्ज आएका छन् । प्रतियोगितामा २२ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका ब्याडमिन्टन प्रशिक्षक अनिल लाखेका अनुसार प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष डबल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ प्लस भेट्रान्स डबल्स राखिएको छ ।
प्रतियोगितामा पुरुष एकलमा प्रथमलाई ७० हजार, द्वितियलाई ३५ हजार, तृतिय र चौथोलाई १५र१५ हजार, महिला एकलमा प्रथमलाई ६० हजार, द्वितियलाई ३० हजार, तृतिय र चौथोलाई १५र१५ हजार, पुरुष डबलमा प्रथमलाई ५० हजार, द्वितियलाई २५ हजार, तृतिय र चौथोलाई १५र१५ हजार, पुरुष डबल बी लेभलमा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०र१० हजार, पुरुष भेट्रान्समा प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतिय र चौथोलाई १०र१० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ ।