काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले पाँचौ जित निकालेको छ ।पाँचौ जित निकाल्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पाखा लगाएको हो ।
आर्मीले दिएको २८० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अलआउट भयो ।कर्णालीका लागि कप्तान रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ तथा हिमांशु शाहीले १९ रन जोडे । दिनेश अधिकारीले ९ रन थपेको खेलमा दिवान पुनले १८ रन थपे ।
कर्णालीलाई सस्तैमा रोक्ने क्रममा आर्मीका विवेक यादव र कुशल मल्लले समान तीन/तीन विकेट लिए । ७ ओभरमा १ मेडनसहित कुशलले २० रन खर्चिँदा ६ ओभर बलिङ गरेका विवेकले २ मेडन राख्दै २५ रन दिए ।त्यस्तै सोमपाल कामीको नाममा २ विकेट रहँदा १ विकेट साहव आलमको नाममा रह्यो ।
लगातार पाँचौ जित निकालेको आर्मी १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्मी तेस्रो स्थानमा रहँदा सबै खेल खेलिसकेको बागमती प्रदेश १२ अंकसहित दोस्रो तथा हालसम्म अपराजित रहेको पुलिस १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
मधेश प्रदेश चौथो स्थानमा रहेको छ । आज मधेशले लुम्बिनी प्रदेशसँग खेलिरहेको छ । लुम्बिनीलाई हराएको खण्डमा मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिनेछ । पहिलो पटक डबल राण्ड रोविनमा खेलाइएको खेलमा शीर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्नेछ ।
यसअघि कीर्तिपूरस्थित त्रिवि मैदाननमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७९ रन जोडेको थियो । कप्तान विनोद भण्डारीको शतकको मद्दतमा विभागीय टिम त्रिभुवन आर्मीले २८० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
आर्मीका लागि शतक हिर्काएका भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्का हिर्काए । विनोदको प्रधानमन्त्री कपको यस संस्करणमा यो दोस्रो शतक हो । यसअघि उनले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।
विनोदका अतिरिक्त वसिर अहम्दले शानदार ब्याटिङ गरे । ९२ बलको सामना गरेका उनले १२ चौका र १ छक्का हिर्काउँदै ९८ रन जोडे । उनी करिअरकै पहिलो शतक प्रहार गर्नबाट २ रनले चुके ।
त्यस्तै भीम सार्कीले २५ र कुशल मल्लले २१ रन थपेका थिए । बलिङतर्फ कर्णालीका दीपेन्द्र रावतले २ तथा दिवान पुन, दिनेश अधिकारी र प्रकाश जैसीले समान १/१ विकेट लिएका थिए ।