नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाले नागरिकहरु तथा सेवाग्राहीहरुको राय बुझ्ने तथा सेवाग्राहीहरुलाई परेको असुबिधा प्रती उचित सम्बोधन गर्ने अभिप्रायले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
बुधबार गाउँपालिका कार्यालय बेलाटारीमा सार्वजनिक सुनुवाइ गर्दै स्थानीयका गुनासो सुनिएको हो।
रिपोर्टर्स क्लब नेपाल,लुम्बिनी प्रदेश,बुटवलको मिडिया संयोजनमा भएको सार्वजनिक सुनुवाइमा कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका बारेमा जिज्ञासा राखेका थिए। सहभागीहरुले सडक धुलो हुने, पालीकाको खर्च बढी रहेको कुराहरू उठाएका थिए।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आफुले चुनावी घोषणापत्र अनुसारका ८० प्रतिशत कामहरू शुरु गरेको जानकारी दिनुभयो।
उहाँले उठेका समस्या एवं गुनासोहरुको बारेमा बोल्दै काम नगर्नेबाट कुनै गल्ती नहुने र काम गर्नेबाट गल्ती हुने भएकोले सच्च्याउदै आगामी दिनमा झकझकाउन आग्रह गर्नुभयो ।
उहाँले एउटा तत्त्वले गाउँपालिकाका कामहरु रोक्ने योजनाबद्ध लागिरहेको बताउदै त्यस्तो गर्दा पालिका जोखिममा रहने हुदाँ त्यसो नगर्न चेतावनी दिनुभयो।
उहाँले जनताको कामको लागि आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले आफुले आफ्नो अधिकार भित्र रहेका कामहरू गर्दै आएको बताउदै कमि कमजोरी भएमा सच्चिन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले पालिकाले यो आर्थिक वर्ष भित्र भएका कामहरु र भएका सम्झौताको बारेमा जानकारी गराउनुभएको थियो ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले क्लबले गर्दै आएका कामहरु र सार्वजनिक सुनुवाइको बारेमा पालिकाको अवस्थाको बारेमा उल्लेख्य गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु,सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयहरुको सहभागीता रहेको थियो।