बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।
६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि २ दिने लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
लोकनृत्य प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताउनुभयो ।
उहाँले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताउनुभयो। उहाँले लोक संस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रम अन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि लोकनृत्य प्रतियोगिता उपयोगी हुने बताउनुभयो। उहाँले विद्यालयहरुलाई हरेक क्षेत्रमा क्षमता विकासका लागि विद्यार्थीहरुलाई सहभागी गराउनुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले विद्यालयहरुलाई अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने थलोका रुपमा बुटवल उपमहानगरपालिकाले धेरै अवसरहरु प्रदान गरेकाले सदुपयोग गर्न आग्रह गर्नुभयो ।
लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी भएको र पहिलो दिन २२ वटा विद्यालयले प्रस्तुति देखाइसकेको लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन्।