काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताउनुभएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक स्रोत साधानको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताउनुभयो । वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरुलाई देश विकासमा लगाउन नसक्नु ठूलो कमजोरी भएको उहाँले बताउनुभयो ।
‘हामीले नेपालभित्र नेपाल खोज्न सकेनौं । हिजो संसारलाई स्वतन्त्र बनाउन हिँड्ने वीर गोर्खालीहरुको यो देशलाई त्यही गोर्खालीहरुलाई हामीले मुलुक विकासमा उपयोग गर्न सकेनौं । नेपालको प्राकृतिक स्रोत र साधनलाई सही तरिकाले उपयोग गरेर जनतासित साझेदारी बनाउन सकेनौं,’– उहाँले बताउनुभयो ।
पशुपति, लुम्बिनी, मुक्तिनाथ, हलेसी धार्मिकस्थल र विभिन्न हिमालहरु भएको देशलाई पर्यटकीय हिसाबले विकास गर्न नसकिएको उहाँको भनाइ छ । अहिले युवा, किसान र सबै जनताले नेतृत्वमाथि प्रश्नै प्रश्न गरिरहेको नेता भण्डारीको भनाइ छ ।
साथै, सरकारले किसानलाई मल, बिउ, सिँचाईलगायतका सुविधा दिन नसक्दा पनि किसानले बल्लबल्ल गरेको उत्पादन बाँदरले खाइदिने, बजारमा पठाउने बेला सीमानाका नाकाहरु खोलिदिने र बजार भाउ नपाउने जस्ता समस्या रहेको उहाँले बताउनुभयो । साथै, किसानको अनुदान पनि ठूलाबडा र पहुँच भएकाहरुले नै खाने गरेको उहाँको आरोप छ ।
नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरुले आफ्नो घर बनाएपनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताउनुभयो। नेताहरुले थोरै लोभ त्याग्ने र कर्मचारीहरुले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्ट्रिहरु काम हुँदै जाने उहाँको दाबी छ । अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरुले आफूभित्रै परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘यो स्थिति समाधान गर्न सबै राजनीतिक पार्टीहरुले आ–आफ्नो पार्टीभित्र परिवर्तन गर्नुपर्छ । सोच, दृष्टिकोण र त्यागमा परिवर्तन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘अहिले धेरै दुःख छैन । सहिदहरु गंगाालाल, शुक्रराज, धर्मभक्त, दशरथ चन्द बन्नेजस्तो होईन नि जीवन त्याग्नुपर्ने । अहिले नेताहरुले थोरै लोभ त्याग गर्ने, कर्मचारीहरुले छिटो–छिटो काम गर्दिनेवित्तिकै मुलुक बन्नसक्छ । तर पनि हामीले यति गर्न सकेका छैनौं ।’
मुलुक बिगार्ने जोसुकै भएपनि कारबाही हुनुपर्छ । वरिपरी गरिब राखेर बीचको ठूलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
अब नेपालभित्र नेपाल र नेपाली खोज्न आवश्यक रहेको उहाँको भनाई छ । नेपालको नयाँ नक्सा जारी गरेर देशभरी नै दीपावली मनाएपनि उक्त नक्सा परराष्ट्र मन्त्रालयकै दराजमा थन्किएको उहाँले भन्नुभयो । नेपालभित्र नेपाली खोज्न सकेमात्रै मुलुकमा विकास गर्न सकिने, मुलुकलाई अगाडि बढाउन सकिने र समृद्धिको कल्पना गर्न सकिने उहाँले बताउनुभयो ।
‘हामीले नेपालको नक्सा जारी गर्यौं । देशभरी दीपावली मनायौं । सर्वसम्मत सबै मिलेर गर्यौं । तर, त्यो नक्सा परराष्ट्र मन्त्रालयको सानो दराजभन्दा बाहिर जान सकेन । विदेश जान सकेन । कसको काम गर्दा रहेछन् ?त्यसकारण हामीले नेपालभित्र नेपाली खोज्न पर्ने टड्कारो आवश्यकता देखापर्यो,’– उहाँले भन्नुभयो ।
कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरुलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।
अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उहाँले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताउनुभयो । अहिले कांग्रेसमा उठिरहेको हिन्दुराष्ट्रको वहस एकआपसमा छलफल र समीक्षा हुने बताउनुभयो।
आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने उहाँको भनाइ छ ।धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उहाँले बताउनुभयो ।