Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युवालाई अवसर दिन महासमिति बैठकमा जोड


१०, फागुन २०८०
  • 179
    SHARES
  • युवालाई अवसर दिन महासमिति  बैठकमा जोड

    ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने सदस्यहरूले युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्ने बताएका छन् ।

    ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा आज धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र युवाको प्रतिनिधित्व कम भएको भन्दै युवालाई पार्टीका हरेक तहमा अवसर दिनुपर्ने बताएका हुन् ।

    बैठकमा बोल्दै काठमाडौँका महासमिति सदस्य सुशील भट्टले पार्टीभित्र काम गर्ने असल कार्यकर्ताको भावनलाई कांग्रेसले सम्बोधन गर्न नसकेको बताउनुभयो । “पार्टीले गुटगत प्रतिस्पर्धा भन्दा सही, यथार्थता र जनताको भाषालाई ध्यान दिनुपर्छ, कांग्रेस सत्तामा हुँदा जनताको समस्या समाधान हुनुपर्छ, हरेक तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    नुवाकोटका महासमिति सदस्य कल्पना नेपालीले पार्टीको सबै तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताउनुभयो । “अहिले वडा तहमा एउटा सदस्यको व्यवस्था गरिएको छ, सङ्घको पदाधिकारीमा एउटा सहमहामन्त्री मात्रै व्यवस्था भएको छ, प्रदेश जिल्ला र क्षेत्रीय तहमा पनि एउटा पदाधिकारीको व्यवस्था अनिवार्य हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    काठमाडौँका महासमिति सदस्य रीता सुनुवारले एउटै व्यक्तिलाई पटक–पटक आरक्षणको अवसर दिन नहुने बताउनुभयो । “समानुपातिकमा सांसद बनाउँदा एउटै व्यक्तिलाई पटक–पटक अवसर दिइनु गलत हो, पार्टीले सांसद बनाउँदा योग्य र सक्षम व्यक्तिलाई रोज्नुपर्छ”, उहाँले भन्नुभयो ।

    ललितपुरका महासमिति सदस्य ऋषिराम घिमिरेले आगामी निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताउनुभयो । उहाँले कांग्रेसले अहिले अर्थतन्त्र सुधारका विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

    काठमाडौँका महासमिति सदस्य श्रीराम लामिछानेले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन सहीरूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेप्रति आफूलाई शङ्का लागेको बताउनुभयो । “महँगीले जनताको भान्सादेखि स्वास्थ्योपचार, शिक्षा क्षेत्रमा समस्या सिर्जना गरेको छ, यसमा कांग्रेसले ध्यान दिनुपर्छ, जनताको भाषा बोल्ने हो भने गठबन्धनको आवश्यकता छैन”, उहाँले भन्नुभयो ।

    लमजुङका महासमिति सदस्य चन्द्रबहादुर कुँवरले महासमिति बैठकमा गठबन्धनबारे कुरा उठ्नु गलत भएको बताउनुभयो । “पार्टीलाई चुस्त, दुरुस्त राख्नका लागि अभिलेख राख्नुपर्ने भए पनि पार्टीले राख्न सकेको छैन, तत्काल अभिलेख राख्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीको बारेमा युवापुस्तालाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

    काठमाडौँका महासमिति सदस्य भद्रा भण्डारीले पार्टीका हरेक तहका निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले जनताका समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले पार्टीले समस्याको पहिचानमात्र गर्ने होइन, समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस पछाडि पर्नुको कारण गठबन्धन पनि एक भएको बताउनुभयो ।

    काठमाडौँका महासमिति सदस्य रीता दवाडीले गत निर्वाचनमा नयाँ मतदातालाई बन्धक बनाएर रुखभन्दा अन्य चिह्नमा मतदान गर्न बाध्य पारेको भन्ने गुनासोका कारण आगामी दिनमा अझ समस्या पर्न सक्ने भन्दै पार्टीलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले जिल्ला र क्षेत्रीय सभापतिमा देशैभर महिलाको प्रतिनिधित्व नहुनु दुखद् भएको भन्दै कम्तीमा पनि ३३ प्रतिशत महिला सभापतिहरू हुनसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    गोरखाका महासमिति सदस्य शोभा अधिकारीले पार्टीले टिकट बाँड्ने संसदीय बोर्ड र पार्टीको पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पार्टीले पहल लिनुपर्ने बताउनुभयो ।

    “अन्य पार्टीसँग सहकार्य गरी संविधान तथा नीति–नियम परिमार्जन गरेर भए पनि ३३ प्रतिशत निर्वाचन क्षेत्र महिला–महिलालाई मात्र प्रतिस्पर्धा गराउनुपर्ने, स्थानीय तह वडा, पालिका, नगरपालिका, महानगरपालिकाको प्रमुख पदमा मेयर र अध्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने, केन्द्रीय समितिमा रहेकाहरू महाधिवेशन प्रतिनिधि हुन वडा तहबाट नै अनिवार्य आउनुपर्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    महासमिति बैठकको अन्तिम दिन आज बिहानैदेखि समूहगत छलफल जारी रहेको छ । प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा आजै प्रस्तुत गर्नुहुनेछ ।

    बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमा समूहगतरूपमा छलफल भएको थियो । उक्त छलफल अहिलेसम्म पनि जारी रहेको छ । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

    प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्क समितिका गरी दुई हजार बढी महासमिति सदस्य  सहभागी छन् । उक्त बैठक आज नै समापन गर्ने तयारी गरिएको कांग्रेस प्रचारप्रसार उपसमितिले जनाएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend