गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप अन्तर स्थानीय तह भलिबल प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाको समुहले हात पारेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मदाने गाउँपालिकाको आयोजनामा मदाने-७ भनभनेमा उक्त प्रतियोगिताको आयोजना गरिएको जानकारी गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले दिनुभयो।
फागुन ७ गतेदेखि ९ गते सम्म संचालन भएको दोस्रो अध्यक्षकप भलिबल प्रतियोगितामा मुसिकोट नगरपालिकाको समुह प्रथम,चन्द्रकोट गाउँपालिकाको समुह दोस्रो र सत्यवती गाउँपालिकाको समुहले तेस्रो स्थान प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिनुभयो।
गुल्मी जिल्लाका स्थानीय तहबाट सहभागीता हुन पाउने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा एघार समुहको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहले एक लाख एघार हजार एक सय ११ रुपैयाँ,दोस्रो हुने समुहले ५५ हजार पाँच सय ५५ रुपैयाँ र तेस्रो हुने समुहले २५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार र मेडल वितरण गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले दिनुभयो।
यसैगरी मदाने गाउँपालिकाको आयोजनामा वडा स्तरीय महिला भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ।महिला भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका ७ महिला समुहको सहभागीता रहेको थियो।
महिला वडा स्तरीय भलिबल प्रतियोगितामा मदाने गाउँपालिका-३ सिर्सेनीको समुह प्रथम,मदाने गाउँपालिका-५ मलागिरी दोस्रो र मदाने गाउँपालिका-६ पुर्कोट दहको समुहले तेस्रो स्थान प्राप्त गरेका थिए ।
वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने समुहले क्रमशस् ३३ हजार तीन सय ३३ रुपैयाँ,२२ हजार दुई सय २२ रुपैयाँ र ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा मदाने गाउँपालिकालाई चिनाउन र भलिबल प्रतियोगितामा उल्लेखनीय योगदान पुर्याउने मदानेका उत्कृष्ट खेलाडीहरु तथा सामाजिक ब्याक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो।
